अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित इत्राममा मौरीका ८४ वटा घार छन्।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअगाडि खाली जग्गामा राखिएका ती घार कुनै किसानको व्यवसाय भने होइन।
ती मौरीका घार हुन् बराहताल गाउँपालिका–५ स्थित जनज्योति माध्यमिक विद्यालयका। मौरीपालनका हेरालु चेतन चालिसेका अनुसार यी घार बड्डीचौरबाट केही महिनाअघि सुर्खेत सारिएका हुन्।
‘अरिंगालबाट सुरक्षित राख्न मौरीका घार वीरेन्द्रनगर ल्याइएको हो,’ उनले भने, ‘बड्डीचौरमा मौरी राखिएको ठाउँमा धेरै जंगल भएकाले बर्खाको मौसममा अरिंगालले बढी सताउँछ।’
विद्यालयका सय घारमध्ये केही चाहिँ बड्डीचौरमै छन्। सुर्खेतमा ल्याइएका यी मौरी अझै केही महिना यतै रहनेछन्।
जनज्योति माध्यमिक विद्यालयले व्यावसायिक रूपमा मौरीपालन गरेको दस वर्ष भयो। स्कुलमा प्राविधिक विषय सुरू गर्न सहयोगार्थ २०६९ सालमा आयोजित महायज्ञमा एक जना स्थानीय कृषकले दस वटा घार मौरी दान गरेका थिए। तिनै घार राखेर स्कुलले व्यावसायिक मौरीपालन सुरू गरेको हो।
‘हामीले महायज्ञ गरेर स्कुलको नाममा दान–चन्दा माग्दा कलाधर तिवारीले दस घार मौरी हामीलाई दान गर्नुभयो,’ जनज्योति माविका प्रधानाध्यपक नारायण सिग्देलले भने, ‘हामीले त्यो दान स्वीकार गरेर विद्यालयको तर्फबाट मौरीपालन सुरू गरेका हौं।’
कलाधर गाउँमा व्यावसायिक मौरीपालक थिए। उनीसँग त्यस बेला बाइस घार मौरी थिए। विद्यालयले व्यावसायिक पालन गर्ने भएपछि बाँकी बाह्र घार पनि विद्यालयलाई नै बेचिदिए। प्रधानाध्यापक सिग्देलका अनुसार महायज्ञ सकिएको केही दिनपछि कलाधरले बाँकी मौरी पनि किन्न आग्रह गरे। विद्यालयले हेरालु बस्नु पर्ने शर्त राख्यो। कलाधर तयार भए। यसरी विद्यालयले बाइस घार राखेर मौरीपालन सुरू गर्यो।