नेपाल राज्य संवाददाता
अर्घाखाँची– प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं निवर्तमान उपसभामुख पुष्पा भुसालले शितगंगा नगरपालिकाको भूगोललाई समेटने गरी ठाडामा इलाका प्रशासन कार्यालय खोल्ने प्रतिबद्धता जनाइन । उनले चुनाव जितेपछि बन्ने गठबन्धन सरकारले ठाडामा कार्यालय खोलेर सेवा दिनेको लागि पहल गर्ने बताइन ।
आज शितगंगा नगरपालिका वडा नम्बर ४ ठाडाअमराइमा भएको चुनावीसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले जिल्ला प्रशासन कार्यालयबाट पाउने नेपाली नागरिकताको लागि सदरमुकाम आउजाउ गर्दा हजारौं पैसा खर्च गर्नुपर्ने बाध्यता रहेको र चुनावपछि बन्ने गठबन्धन सरकारबाट आफुले ठाडामै इलाका प्रशासन कार्यालय खोलेर नागरिकता पाउने सुविधा हुने बताइन ।
क्षेत्रफलका हिसाबले जिल्लाको ५७ प्रतिशत भूगोल ओगटेको नगरपालिका भएकाले ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर उपलब्ध गराउने र वडामा रहेका स्वास्थ्य चौकीमा सहज स्वास्थ्य सेवा उपलब्ध हुने उनले बताइन । यस क्षेत्रका युवालाई रोजगारीको लागि कृषि, पर्यटन लगायतमा राज्यले लगानी गर्नुपर्ने बताइन ।