हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग सद्भाव र आत्मियता रहेको बताएका छन् । उनले एमालेको तर्फबाट सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्नो लागि सौभाग्य रहेको बताए ।
सोमाबार हेटौंडा-५ र ६ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै थापाले एमाले सङ्गको सहकार्य चुनाव जित्ने मात्र नभइ देशको आवश्यकताका कारण भएको स्पष्ट पारे । बाह्य शक्तिको चलखेल व्यापक रुपमा बढेकोले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाँचो रहेको उनले औल्याए । थापाले देशभित्र पनि कतिपय राजनीतिक दलहरुले स्वभिमान कायम राख्न नसकेको, राष्ट्रवादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।
नेपालको चुच्चे नक्सा जारी भएसँगै एमाले लगायतका राष्ट्रवादी शक्ति माथी प्रहार हुन थालेको उनको भनाइ थियो । उनले सत्ता गठबन्धन राष्ट्रवादी शक्ति कमजोर पार्नको लागि मात्र बनेकोले यसले जनता र देशको हित नगर्ने बताए। ‘देश रहे मात्र प्रजातन्त्रको आभास हुन्छ , देश बचे मात्र आर्थिक समृद्धि हुन्छ ।’ थापाले भने ।
थापाले तत्कालिन समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको अस्थायी राजधानी भक्तपुर बनाउन चाहेको तर आफुले प्रदेशको राजधानी हेटौंडा नबनाए उपप्रधानमन्त्री पदबाट राजिनामा दिने चेतावनी पछि हेटौंडा प्रदेशको अस्थायी राजधानी बनेको स्मरण गरे । उनले सो समयमा बनेको अस्थायी राजधानीलाई एमाले नेता डोरमणी पौडेल मुख्यमन्त्री बनेपछि स्थायी कायम भएको भन्दै पौडेलेको प्रशंसा समेत गरे ।
थापाले आफु प्रतिनिधिसभामा निर्वाचित बनेपछि प्रदेशको राजधानी हेटौंडालाई नमुनालायक बनाउने पनि उद्घोष गरे । कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एंव हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर हरिबहादुर महत, नेकपा एमाले मकवानपुरका अध्यक्ष एंव मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचीव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाल, इन्द्र नेपाल लगायतको आतिथ्यता रहेको थियो ।