अर्घाखाँची — लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएका समाजसेवि राजु खड्काले अब राजनीतिको बाटो समातेर जनसेवामा योगदान पुर्याउने घोषणा गरेका छन्। समाजसेवीको छवि बनाएर करिब २१ वर्षसम्म दुबईमा श्रम, संघर्ष र अनुभव बटुलेर स्वदेश फर्किएका खड्का जिल्लामा हाल व्यवसायसँगै अब राजनीतिमा समेत सक्रिय हुने दृढसंकल्पका साथ अघि बढेका हुन् ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजना गरिएको नगर भेला भव्य र शिष्ट वातावरणमा सम्पन्न भयो। कार्यक्रमको सुरुवात बिहान टोल–टोलबाट आएका युवाहरूको उत्साहजनक सहभागितासहितको रंगीन मोटरसाइकल र्यालीले भयो, जसले सम्पूर्ण शहरलाई राजनीतिक उत्साहले भरिदियो। त्यो भिडमा खड्कामा उत्साह नयाँ उर्जा देखिन्थ्यो ।
भेलामा रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठक, जिल्ला समिति पदाधिकारी, विभिन्न पालिका तथा वडा प्रतिनिधि, पत्रकार, समाजसेवी, स्थानीय युवा र दाजुभाइ–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति थियो। उत्साहपूर्ण सहभागिता र जोशिलो वातावरणका बीच राजु खड्काले औपचारिक रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरे।
उनी सगै विभिन्न पार्टी परित्याग गरि ४३ जना युवाहरू रास्वपामा प्रवेश गरेका हुन् ।
नवनिर्वाचित नगर सभापति खड्काले सामाजिक संजालमा लेख्दै जीवनको नयाँ अध्याय सुरु भएको उल्लेख गरे। “समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ उद्देश्यका साथ म राजनीतिमा होमिएको छु। यो यात्रामा मलाई साथ, सुझाव र आशीर्वाद दिने सम्पूर्ण मान्यजन, आफन्त, शुभेच्छु र समर्थकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।”
खड्काले आफ्नो पहिलो प्राथमिकता समाजका लागि ठोस र दीर्घकालीन काम गर्नुपर्नेमा जोड दिँदै नयाँ कार्यसमिति चयन भएका सहकर्मीहरूलाई बधाईसमेत दिए। “अब हामी सबै मिलेर एकजुट भएर अर्घाखाँचीलाई उदाहरणीय बनाउन, युवाको ऊर्जालाई सकारात्मक बाटोमा प्रयोग गर्न र स्थानीय समस्याको स्थायी समाधानका लागि जुट्नेछौं,” उनले स्पष्ट रूपमा घोषणा गरे।
कार्यक्रमका वक्ताहरूले खड्काको विगतको निःस्वार्थ समाजसेवा र नेतृत्व क्षमताको उच्च प्रशंसा गर्दै उनको राजनीतिक प्रवेशले रास्वपा मात्र होइन, सम्पूर्ण जिल्लाको सामाजिक–राजनीतिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास समेत व्यक्त गरेका थिए । उनले ८४मा बाजि मार्लान यो भविष्यले बताउला, तर उनको उत्साह र समर्पणले युवाहरूमा नयाँ आशा जगाएको छ ।

