अर्घाखाँची, सन्धिखर्क । साउन महिनाको आगमनसँगै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२, भक्तिटोलस्थित श्री सिद्धेश्वर शिवालय मन्दिरमा यसवर्ष पनि बोलबम विशेष धार्मिक कार्यक्रमको आयोजना गरिने भएको छ।
शिव भक्तहरूको उत्साहपूर्ण सहभागिता रहने यो वार्षिक कार्यक्रम यसपटक साउन १ गते बिहीबार बिहान ७:३० बजेबाट सुरु हुनेछ। आयोजक श्री सिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अनुसार, बिहान साढे सात बजे भजन–कीर्तनसहितको कलश यात्राबाट नगर परिक्रमा आरम्भ हुनेछ।
कलश यात्रापछि बिहान ९:३० बजेबाट हवनसहित सामूहिक लघु रुद्राभिषेक गरिने कार्यक्रम तय गरिएको छ। दिउँसो ३:३० बजे भने विशेष शिव ताण्डव नृत्य र शिव महाआरतीसहित पुष्पाञ्जली अर्पण गरिनेछ।
मन्दिर समितिले सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सादर आमन्त्रण गरेको छ। समितिका अनुसार, बोलबमका कार्यक्रमहरु साउन महिनाभरि नै सञ्चालन गरिनेछन्।
पछिल्ला वर्षहरूमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको यस धार्मिक गतिविधिले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको सन्देश प्रवाह गर्दै आएको छ।
समितीले स्मरण गराउँदै भनेको छ : “साउन महिनाभरि प्रत्येक दिन बिहान र बेलुकाको नियमित पूजा, आरती तथा भजन–कीर्तनमा सहभागी भई भक्तजनहरूले शिवको आशीर्वाद प्राप्त गर्न सक्नेछन्।”