नेपाल राज्य संवाददाता
अर्घाखाँची– शितगंगा नगरपालिकाको वडा नम्बर ५ मा रहेको गल्दा गाउँमा भवानी बहुउद्देश्यीय एग्रो कृषि फार्मले दुई हजार रोपनी क्षेत्रफलमा दुई हजार कफीका विरुवा लगाउन थालेको छ । अहिलेसम्म एक हजार विरुवा रोपिसकिएको छ । केही विरुवा स्थानीयलाई समेत वितरण गरिएको छ । भवानीले आफै कफीका विरुवा उत्पादन गरेर धेरै क्षेत्रफलमा कफी खेती गर्न लागेको हो ।
भवानीका सञ्चालक नरेन पुनले यस क्षेत्रलाई कफी पकेट क्षेत्रको रुपमा विस्तार गर्न परियोजना सञ्चालन गर्न लागिएको बताए । कफीले ३ वर्षमा फल दिन शुरु गर्छ । कफी खेतीलाई व्यावसायी बनाउँदै यहाँ कफी अध्ययन स्थलको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको छ । गल्दामा होमस्टे निर्माण गरी सञ्चालन गर्ने तयारी रहेको पनि उनले बताए ।
शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले कफी खेतीको भविष्य उज्ज्वल रहेकाले यति धेरै क्षेत्रफलमा व्यावसायी कफी खेती गर्न शुरु गरेर भवानीले कृषकलाई थप उर्जा थपिदिएको बताए । कफी रोप्न वडा ५ का अध्यक्ष चन्द्रमणि बेल्वासे लगायतका जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो । जिल्लामा केही वर्षअघि १२ टनसम्म कफी विदेश निर्यात हुन्थ्यो । तर, गबारो किराले सखाप पारेपछि १२ सय भन्दा बढी किसान कफी खेतीबाट विस्तापित भएका थिए ।
पछिल्लो समय कफी खेतीतर्फ कृषकको आकर्षण बढ्न थालेका बेला भवानीले यति धेरै क्षेत्रफलमा कफीको व्यावसायीक परियोजना सञ्चालन गर्न लागेको हो । यहाँ लगाइएका कफीलाई रेखदेख र स्याहारसुसार गरेर सबै कफीका बोट बचाएर उत्पादन गर्ने जमर्काे भवानीको छ ।