लक्ष्मी खनाल – अर्घाखाँची ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले बालबालिकाको समुचित भविष्य निर्माणका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्य आवश्यक रहेको बताएका छन् । 
सनिवार भूमिकास्थान नगरपालिकाको आयोजनामा शैक्षिक उत्प्रेरणा कार्यक्रमका सम्बोधन गर्दै प्राध्यापक श्रेष्ठले भने, “शिक्षकको एक्लो प्रयासबाट मात्र शैक्षिक रूपान्तरण सम्भव छैन। शिक्षा गुणस्तरीय बनाउन, पाठ्यक्रमका अपेक्षित लक्ष्य प्राप्त गर्न र बालबालिकालाई पुस्तकीय ज्ञानमा मात्र सीमित नराखी व्यवहार, धारणा, ज्ञान र सीपमा आधारित समग्र विकास गराउनु जरुरी छ।”
उनले पछिल्लो पुस्तालाई ‘जेन्जी जेनेरेसन’ को रुपमा परिभाषित गर्दै शिक्षा प्रणालीलाई समय सापेक्ष ढंगले परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।
उक्त शैक्षिक उत्प्रेरणा कार्यक्रम भूमिकास्थान नगरपालिका वडा नं ९ स्थित श्री भगवती माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो। कार्यक्रममा भगवती मावि, देवी आधारभूत विद्यालय, वराह आधारभूत विद्यालय, सिद्धगुफा आधारभूत विद्यालय, देउराली, जन्मभूमि र पद्मावती आधारभूत विद्यालयसहित ७ विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवाला निकायको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति सदस्य टेकबहादुर रेश्मीले गरेका थिए भने प्रमुख अतिथि भूमिकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तुवालाल सापकोटा, भगवती माविका प्रधानाध्यापक कृष्ण खनालले स्वागत मन्तव्य राखेका थिए भने संचालन शिक्षक पवन विकले गरेका हुन् ।
यो कार्यक्रमले स्थानीय तह र सरोकारवाला पक्षबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

