काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले थुनामुक्तिका लागि उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् ।
जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार गरेको आदेशविरुद्ध रायमाझी उच्च अदालत पुगेका हुन् । उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासमा उनको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।
रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम पुस २४ गते जिल्ला अदालत काठमाडौंमा थुनामुक्तिका लागि निवेदन दर्ता गराएका थिए । तर, जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सो निवेदन अस्वीकार गरेको थियो ।
उक्त दफाअनुसार दफा ६७ वा ६८ बमोजिम थुनामा परेका अभियुक्त कसुरदार नभएको मनासिब आधार देखिएमा मुद्दा जुनसुकै चरणमा भए पनि अदालतले थुनाबाट छाड्न सक्ने व्यवस्था छ ।
यसअघि २०८० असार १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो आदेशविरुद्ध उच्च अदालत र सर्वोच्च अदालतसम्म पुग्दा पनि थुनामुक्त हुन अस्वीकार भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, कीर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा ३० जनाविरुद्ध २०८० जेठ १० गते मुद्दा दायर गरेको थियो ।

