अर्घाखाँची– भूमिकास्थान नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
छात्र तर्फ शितगंगा सदन विजेता बनेको छ भने पाणिनी सदन उपविजेता हुन सफल भएको विद्यालयले जनाएको छ। छात्रा तर्फ सुशिला पुलामी नेतृत्वको टिमले विजेताको उपाधि हात पार्दा बिनिता भुसालको टिम उपविजेता बनेको थियो।
प्रतियोगिताको प्रमुख रेफ्रीको जिम्मेवारी खेल शिक्षक तारा बहादुर पुलामीले वहन गरेका थिए भने सहायक रेफ्रीमा शिक्षक पवन बरालले सहयोग गरेका थिए।
छात्र समूहबाट ४ सदन र छात्रा समूहबाट ३ टिम गरी कुल ७ टिम प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिताको उद्घाटन विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बल सर्भिस गर्दै गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक पुनाराम भट्टराईले गर्नुभएको थियो।
शिक्षक लक्ष्मी खनालको सञ्चालनमा सम्पन्न उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। प्रतियोगिता हेर्न आएका अन्य विद्यार्थीहरूले पनि खेल रमाइलोका साथ अवलोकन गरेका थिए।

