अर्घाखाँची – नेकपा (मसाल) निकट अखिल (छैठौं) अर्घाखाँचीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य प्रकाश चुदालीले पद र पार्टी दुवैबाट एकैसाथ राजीनामा दिएका छन्। उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल (छैठौं) को जिम्मेवारी र राष्ट्रिय जनमोर्चाको सदस्यता तत्काल प्रभावबाट त्यागेको घोषणा गरेका हुन्।
विगत दुई वर्षदेखि संगठनको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको हैसियतमा सक्रिय रहेका चुदालीले विद्यार्थी अधिकार, संगठन सुदृढीकरण र नीतिगत लक्ष्य प्राप्तिमा निरन्तर योगदान गरेको स्मरण गर्दै पछिल्ला राजनीतिक परिस्थितिले आफूलाई नयाँ बाटोतर्फ मोड्न बाध्य बनाएको बताएका छन्।
उनको विज्ञप्ति अनुसार मुलुकमा उदाएका नयाँ राजनीतिक शक्तिप्रति राज्यले देखाएको प्रतिशोध र दमन, पुराना दलहरूको आचरण र शैलीले तल्लो तहमा रहेर काम गर्ने कार्यकर्तामाझ निराशा र लज्जाको वातावरण सिर्जना गरेको छ। “उदाउँदै गरेका शक्तिहरूलाई धरापमा पार्दै परम्परागत राजनीतिक लाइनमा उभिन मेरो नैतिकताले अनुमति दिएन,” विज्ञप्तिमा उल्लेख छ।
चुदालीले विगतमा साथ र सहयोग गर्ने नेतागण, सहकर्मी, शुभेच्छुक र विद्यार्थी समुदायप्रति आभार व्यक्त गर्दै भविष्यमा व्यक्तिगत हैसियतमा प्रगतिशील आन्दोलन, समानता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा सक्रिय रहने दृढता प्रकट गरेका छन्।
यससँगै उनले नेकपा (मसाल) र यसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा परित्याग गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।