कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जेठ २८ गते नेपालले घरेलु टोलीविरुद्ध गोल गर्दा दर्शन गुरुङ र सन्तोष तामाङको तालमेल गज्जवको थियो । दुबै सब्स्टिच्युडका रुपमा मैदान छिरेका थिए ।
त्यै गोलका कारण दर्शन ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने नेपाली खेलाडीका रुपमा चिनिए । वाईबी घलेले सन् १९८२ को एसियाली खेलकुदमा नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल गरेयता नेपाल कुवेतविरुद्ध गोलविहीन थियो ।
पहिलो अन्तर्राष्ट्रिय गोल गरेको तीन सातामै दर्शन सुरक्षित भविश्यको खोजीमा विदेशिए, त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङले पनि फुटबल करिअरलाई विट मारे । उनीहरु दुवै आइतबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
इलामका दर्शन एन्फा एकेडेमीका उत्पादन हुन् । यू–१२ यता सबै उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका उनले पछिल्लो पटक राष्ट्रिय टोलीमा अवसर पनि पाए । तर फुटबल छाडेर विदेश लागे ।