काठमाडौं । नेकपा (एमाले)की सांसद बिजुला रायमाझीले नेपालको अस्थिरता र संकटमा विदेशी शक्तिको हात रहेको बताउँदै विदेशीको इसारामा देश नबन्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले राष्ट्रियता, संविधान र गणतन्त्रको संरक्षणका लागि सबै नेपाली युवा एकजुट हुनुपर्नेमा जोड दिएकी छन्। रायमाझीले लेखेकी छन् “विदेशीको इसारामा देश बन्दैन,नेपाल यस्तो देश हो जुन सानो भूगोलमा सीमित भए पनि प्राकृतिक सौन्दर्यले विश्वको ध्यान तान्न सक्ने अनुपम राष्ट्र हो। तर, विस्तारवादी तत्वहरूले यतिबेला देशलाई अस्थिर पार्ने योजना बनाइरहेका छन्।”
उनले भाद्र २३ गते २/३ बजेपछि देशमा देखिएको विध्वंसलाई “मातृभूमिप्रति माया गर्ने युवाहरूको योजना होइन” भन्दै त्यसको पछाडि स्वार्थी र विदेशी प्रवृत्ति लुकेको दाबी गरिन्। “संविधान बाहिरबाट देश चलाउने प्रयासले सुरक्षा संयन्त्रको आत्मबल कमजोर बनेको छ” उनले लेखेकी छन् “अब नेपाली युवा एकजुट भएर राष्ट्रिय एकता मजबुत बनाउनु जरुरी छ।”
रायमाझीले गणतन्त्र र संविधानको रक्षा गर्न “अग्रज नेतृत्वको साथ लिएर, होइन विरोध गरेर” अघि बढ्नुपर्ने बताइन्। उनका अनुसार संविधान २०७२ भित्रैबाट देशको सुधार र संशोधन सम्भव छ, तर बाह्य दबाबमा होइन।
अन्त्यमा उनले आक्रोशभन्दा संवाद र सहकार्य आवश्यक भएको उल्लेख गर्दै भनिन् “विदेशीको इसारामा देश बन्दैन। युवा तथा अग्रजको साथ लिएर अघि जाने हो विरोध गरेर होइन , नेपालको भूगोल, पहिचान र अस्तित्व जोगाउने जिम्मा हामी सबैको हो।”

