अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका उम्मेदवार हरि प्रसाद भुसालले चन्दा संकलनमार्फत चुनावी खर्च जुटाउने अभियान सुरु गरेका छन्। पारदर्शिता र न्यूनतम खर्चलाई प्राथमिकता दिँदै उनले जनसहभागितामा आधारित चुनावी अभियान अघि बढाउने बताएका हुन् ।
उम्मेदवार भुसालले परम्परागत खर्चिलो र अपारदर्शी चुनावी अभ्यासको विरोध गर्दै आफू बरु असफल हुन तयार भए पनि भ्रष्टाचारमा संलग्न नहुने स्पष्ट अडान सार्वजनिक गरेका छन्। सामाजिक संजालमा लेख्दै “हामी बरु नष्ट हुन्छौँ, तर भ्रष्ट हुँदैनौँ” भन्दै उनले इमानदार राजनीतिक अभ्यासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए।
चुनावी अभियान अधिकतम कम खर्चमा सम्पन्न गरिनेछ र त्यसमा समर्थक तथा सुभेच्छुकहरूको सक्रिय सहभागिता रहनेछ। ठूला आर्थिक स्रोत वा प्रभावशाली समूहको भर नपरी आम नागरिकको सानो–सानो योगदानबाट अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको भुसालले बताएका हुन् ।
चुनावी प्रयोजनका लागि छुट्टै नयाँ बैंक खाता सञ्चालन गरिएको उल्लेख गर्दै उनले सो खातामार्फत हुने आय–व्यय गत जस्तै पूर्ण रूपमा पारदर्शी रहने प्रतिबद्धता समेत जनाएका छन्। संकलित प्रत्येक रकमको विवरण सार्वजनिक गरिने र कुनै पनि किसिमको दुरुपयोग नहुने उनले दाबी गरेका हुन् ।
भुसालले यो अभियान कुनै व्यक्तिको मात्र नभई भ्रष्टाचारविरुद्ध उभिएका सचेत नागरिकहरूको साझा प्रयास भएको बताएका छन्। उनले इमान, उत्तरदायित्व र जवाफदेहीतामा आधारित नयाँ राजनीतिक संस्कृतिको स्थापना गर्न सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गते । रास्वपा अर्घाखाँचीले जनमुखी, पारदर्शी र खर्च नियन्त्रित चुनावी अभियानमार्फत जिल्लामा वैकल्पिक राजनीतिक अभ्यासको उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरेको उनका शुभचिन्तक बताउछन् ।

