श्रीकृष्ण भुसाल , अर्घाखाँची ।
काँध फेर्ने कि नेता ?
(लघु कथा)
राम र श्याम एउटै उमेर समूह र एउटै वर्ग आधारका साथीहरु हुन्। उनीहरू देश र जनतालाई गरिवी र अन्यायको दुष्चक्रबाट मुक्त गर्ने उद्देश्यले राजनीति प्रति आकर्षित भएर पार्टीमा आबद्ध भए।
पार्टीमा लामो समयसम्म काम गर्दा पनि गतिलो जिम्मेवारी र अवसर नपाएकोमा राम सधैं दिक्क हुन्थ्यो। तर श्यामलाई त्यो कुराको कुनै चिन्ता थिएन। उचित जिम्मेवारी र अवसर नपाउँदा नपाउँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमको पक्षमा श्याम गर्वका साथ वकालत गर्थ्यो र दत्तचित्त भएर संगठनको कामामा लाग्थ्यो।
लामो समयको प्रतीक्षा पछि रामले चाहेजस्तो पार्टी जिम्मेवारी पायो। श्याम भने पार्टीमा लामो समयदेखि योगदान दिएको आफ्नो सहकर्मीले उचित जिम्मेवारी प्राप्त गरेकोमा खुसी हुँदै रामलाई हर तरहले साथ दिई नै रह्यो।
रामको नेतृत्वकालमा पार्टीले आशातित उपलब्धि हासिल गर्यो। राम र श्याम दुवै गर्वले प्रफुल्लित भए। तर बिस्तारै राममा श्याम लगायतका साथीहरु भन्दा योग्य भएर आफूले जिम्मेवारी प्राप्त गरेको र साथीहरुको सामूहिक प्रयत्नले भन्दा आफ्नो नेतृत्व क्षमताका कारण सबै उपलब्धि हासिल भएको भन्ने घमण्ड पलाउन थाल्यो।
उता श्यामलाई भने त्यो कुराको हेक्का थिएन। ऊ त राम जस्तो आफ्नै सहकर्मीको नेतृत्वमा आफू लगायतका सम्पूर्ण साथीहरुको सक्रियताले पार्टीलाई सफल बनाउन पाएकोमा गौरवान्वित भएको थियो।
श्याम लगायतका सहकर्मीहरुले गोलबन्द भएर रामलाई काँधमा बोकेर सफलताको शिखरमा पुर्याए। उनीहरुले रामका कतिपय कमजोरी हरूलाई पनि वास्ता नगरी स्वाभाविक मानवीय कमजोरीको रुपमा लिए। उनीहरूमा सदभाव, सहकार्य, एकता र संघर्षको माध्यमबाट नै राममा भएका सानातिना कमजोरी हटाउँदै नेतृत्वमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास थियो।
रामलाई नेता बनाएर लामो समयसम्म काँधमा बोकेर हिँड्दा श्याम लगायतका सहकर्मीहरुको काँध पाटियो। अब काँध फेर्ने बेला भयो। लामो समय देखिको थकानले श्याम र अन्य साथी हरुलाई गाह्रो भइसकेको थियो। उनीहरूले काँध फेर्ने प्रयत्न गरे। यत्तिकैमा राम ढलफलायो र उसले श्याम लगायतका साथिहरुले काँध मात्र फेर्न लागेका हुन् भन्ने नबुझी आफूलाई नै काँधबाट फाल्न लागेको ठान्यो। उसले आफैलाई काँध थाप्ने सहकर्मी हरुलाई आफू विरुद्ध षड्यन्त्र गरेको आरोप लगाउन थाल्यो।
निरन्तर बोकाईको थकानले सहकर्मीहरुले काँध फेर्ने क्रममा रामले सन्तुलन मिलाउन नसक्दा उसलाई आफ्नो सत्ता उल्टिन लागेको भान भयो। उसले श्याम जस्ता आफू जत्तिकै जिम्मेवार साथीहरुको काँध पाटिएको अनुभूति गर्न सकेन। रामले परिस्थितिको मूल्यांकन गरेर लामो समयदेखि काँधमा बोक्ने साथीहरुको मर्म बुझ्न नसक्दा श्याम लगायतका साथीहरु बाध्यताका साथ आफ्नै मित्रलाई काँधबाट फाल्ने निष्कर्षमा पुगे।
रामलाई श्याम लगायतका सहकर्मीहरुले नभई आफूले शक्तिशाली ठानेको उपल्लो तहको कोही नेताको आशीर्वादले मात्र नेता बनाएको भन्ने भ्रम रहेछ। समय क्रममा रामले उक्त कुरा लुकाउन सकेन र आफ्ना बोली र व्यवहारबाट अभिव्यक्त गर्न थाल्यो। उसलाई सहकर्मीहरुको त्याग, तपस्या र समर्पण भन्दा माथिका नेताहरुको आशीर्वाद नै सफलताको द्यौतक हो भन्ने लागेको रहेछ।
यति बुझिसकेपछि काँध फेर्ने योजना बनाएका श्याम लगायतका साथीहरुले आफैले नेता बनाएको राम जस्तो मित्रलाई दुःखका साथ काँधबाट हुत्याएर नेता नै फेर्ने निष्कर्षमा पुगे।