नारायण खनाल नीलम् ,अर्घाखाँची ।
🌺बदलियो प्रेमपत्र🌺
वाह!
हिजो
कागजको सुगन्ध
हस्ताक्षरको अपनत्व
समर्पणको तागत
र
मसिको रंग विनोदले
जीउँदो बन्थ्यो प्रेमपत्र !
साँच्चिकै
जादुमय हुन्थ्यो
शबदहरुको नृत्य कला प्रेमपत्रमा !
जति
पवित्र हुन्थ्योे
भावना कोर्दा बस्ने
मनोबैज्ञानिक चौतारी
उत्तिकै
पुज्य हुन्थ्यो
पत्रको भाषाले जगाइदिने
उत्सुकताको बतास
र
त्यही बतासले दिलाउने प्रेमानुभूति!
ओहो !
प्रविधिको विस्मय
र
स्वार्थको हुरीले
खुम्च्याइदियो प्रेमको महत्त्वलाई
अनि
प्राणहीन च्याटालापमा
बदलियो प्रेमपत्र !
हिजो
अनेक बान्की र भावका
बेग्लाबेग्लै अनुभव
साटेर प्रेमपत्रमा
अत्यास मेटिन्थ्यो मनको !
भत्किएका सपनाहरु
यादले जोडेर
प्रगतिको रेखा कोर्न
हौस्याइन्थ्यो जीवनको !
तर आज
आौँलाका चालबाट
अक्षरका जीउमा स्पर्श गर्छ प्रेम
र
विद्युतीय करेन्टले
प्राण भर्छ प्रेमपत्रको !
इन्द्रेणीमा लुकेर
केशराशि सुमसुम्याउनुको पल
आँसुमा छचल्किने
प्रेमिल भावहरु
र
सामिप्यताले दिने भरोसा
कसरी अनुभूत गराओस्
च्याटालापले !
फगत
बाहिरी आवरणमा रमाएर
बिर्सँदैछ च्याटालापले
भावना र यथार्थको बुनोटबाट
जन्मने अद्भुत कविताहरू !
टुटाउँदैछ
नदिको मझधारमा लगेर
प्रेमको
जीवनतत्वको तार !
र
बढाउँदैछ
अपवित्र बन्धनहरू भटाभट !