बुटवल । कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदा घटना सम्बन्धमा प्रहरीले शनिबार रातिसम्म नौ जनालाई नियन्त्रणमा लिएको छ ।
दुई समुदायबिच भएको घटनाले उग्र रूप लिएपछि प्रदर्शनकारीले ठाउँ–ठाउँमा विरोध प्रदर्शन गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी उपरीक्षक सन्तोष आचार्यले घटनामा कुल २३ जना घाइते भएको बताएका छन् ।
नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ११ जना तथा सशस्त्र प्रहरीका छ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका छन् । त्यसमध्ये चार जनालाई गोली लागेको छ । चार जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।
एक जनाको बहादुरगंज अस्पतालमा उपचार भइरहेको छ । महाराजगंजमा निषेधाज्ञा आज पनि कायम रहेको छ । घटनाका सम्बन्धमा आइतबार प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको निमित्त प्रजिअ भबिश्वर घिमिरले बताएका छन् । शनिबार बिहान कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदामा दुई समुदायबिच धार्मिक विषयमा विवादले उग्र रूप लिएपछि प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो ।
शनिबार मुस्लिम समुदायको इदमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यहीँ नजिक रहेको काली मन्दिरमा चर्को स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबिच विवादले उग्र रूप लिएको थियो । घटनापछि कपिलवस्तुमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताएका छन्। उनले संयम रहन सबैमा अपिलसमेत गरेका छन् ।

