नेपाल राज्य संवाददाता
अर्घाखाँची– सन्धिखर्क र चुत्रावेशी बजारमा छाडा रहेका कुकुरलाई स्थायी बन्ध्यारकण र रेबिज भ्याक्सिनेसन शिविर सञ्चालन गरिएको छ । एक सय कुकुरलाई बन्ध्याकरण र पाँच सयलाई भ्याक्सिनिसन गरिने सन्धिखर्क नगरपालिका पशु विकास शाखाका डा. नविन पन्थीले बताए । बजारका गल्ली, चोकबाट ट्रकमा कुकुर संकलन गरेर ल्याइएको छ ।
बजारमा हिँडडुल गर्दा पैदल यात्रुलाई टोक्ने र विहानमा स्कुल तथा कलेज पढ्ने विद्यार्थीलाई भुकेर त्रसाउने, लखेट्ने, टोक्न थालेपछि सामुदायिक कुकुरलाई नियन्त्रण गर्न लागिएको उनले बताए । आइतबार सुरु भएको शिविर तीन दिनसम्म चल्नेछ ।
केही महिना देखि बजार आसपास घरपालुका पशु चौपाया बाख्राका पाठापाठी, कुखुरा कुकुरले टोकेर मार्ने गरिरहेका छन् । छाडा कुकुरले बजारमा मान्छे हिँडडुल गर्दा अस्वभाविक गतिविधि गर्न थाल्दा त्रास फैलिएको छ । बजारमा मोटरसाइल, कारमा कुकुर झम्टिने, आक्रमण गर्ने जस्त क्रियाकलाप भएकाले नियन्त्रण गर्नु परेको पशु शाखा प्रमुख नारायण खनालले जानकारी दिए ।
शिविरमा कुकुरलाई बेहोस पार्ने गरेर बन्ध्याकरण गर्ने र पछि खाना खुवाउने, रेखदेख, औषधि उपचार गरेर पुनः बजारमा छाडिने उनले बताए ।

