अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्ष र समानुपातिक) का लागि उम्मेदवार सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ८ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ ३ जना उम्मेदवार सिफारिस गरेको हो।
आकांक्षीको संख्या धेरै भएकाले केन्द्रीय मापदण्डअनुसार तोकिएको संख्याभन्दा बढी उम्मेदवार सिफारिस गरिएको हो। सहमतिका लागि अधिकतम प्रयास गरिए पनि सबैलाई समेट्न कठिन भएको जिल्ला सभापति केशव श्रेष्ठले बताए ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवती प्रसाद भुसालसहित ८ जना सिफारिस भएका छन्। सिफारिस हुनेमा पूर्व पार्टी सभापति कमल प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि मुक्तीराम श्रेष्ठ, जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ तथा पार्टी उपसभापति बाबुराम पौडेल रहेका छन्।
समानुपातिकतर्फ यसपटक नेपाली कांग्रेसकी नेतृ पुष्पा गौतम भुसाल सिफारिस भएकी छिन्। गत निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएकी भुसालले यसपटक समानुपातिकमा बस्ने इच्छा व्यक्त गरेकी हुन्। समानुपातिक सूचीमा भुसालसँगै पूर्व प्रदेश सांसद निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल सिफारिस भएका छन्।
राष्ट्रिय सभातर्फ पूर्व सांसद डा. रामबहादुर बिसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व प्रमुख पिताम्बर शर्मा भुसाल र कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन्।
यता उम्मेदवार सिफारिसपछि पार्टीभित्र असन्तोष देखिएको छ। कांग्रेस निकट अधिकांश युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै पार्टी कार्यालयमा छलफल भइरहँदा बाहिरैबाट निर्णय गरिएको आरोप लगाएका छन्। युवाहरूले सिफारिस प्रक्रिया अपारदर्शी भएको भन्दै नेतृत्वको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

