कुपण्डोल, ललितपुर ।
लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने क्रियाकलाप बढ्दै गएका छन् भन्ने गम्भीर चिन्ता र आपत्ति पत्रकारहरूले प्रकट गरेका छन्।
मंगलबार ललितपुरको कुपण्डोलमा युनेस्को नेपाल राष्ट्रिय आयोग अन्तर्गतको आम सञ्चार समितिद्वारा आयोजित कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय विद्युतीय कारोबार ऐनको दुरुपयोग गरी पत्रकारलाई पक्राउ गर्ने, समाचार हटाउने अदालतको आदेश जस्ता घटनाको विरोध गरे।
कार्यक्रममा बोल्दै पत्रकार शिव गाउँलेले राज्य र पत्रकारबीचको द्वन्द्व पुरानै भए पनि पछिल्लो समयमा पत्रकारमाथि दुर्भावनापूर्ण हमला बढेको बताए। उनले भने, “विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ जुन बैंकिङ कारोबारको सुरक्षाका लागि बनाइएको थियो, अहिले पत्रकारमाथि दुरुपयोग भइरहेको छ। यो ठीक होइन।”
पत्रकार उज्वल आचार्यले पनि सो ऐनलाई पत्रकारितामाथि हस्तक्षेप गर्न प्रयोग गरिएको भन्दै विरोध जनाए। उनले भने, “सूचीकृत नभएको च्यानलको कुरा उठाएर अभिव्यक्ति स्वतन्त्रता दबाउने काम सह्य छैन। सामान्य नागरिकले पनि प्रश्न गर्न पाउने अधिकार हुन्छ।”
पत्रकार किरण नेपालले भने, “विद्युतीय कारोबार ऐनको उद्देश्य नै अनलाइन कारोबार नियन्त्रण हो। त्यसैले पत्रकारलाई यसै आधारमा समात्ने कार्य सरासर अनुचित हो।”
नम्रता शर्मा अनुसार, “साइबर अपराधको नाममा पत्रकार पक्राउ गर्नु र सामग्री हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण हो। यस्ता डरत्रास देखाएर पनि सत्यतथ्य लेख्न छाडिन्न।”
लक्ष्मणदत्त पन्तले प्रेस स्वतन्त्रता कमजोर भए लोकतन्त्र नै संकटमा पर्छ भन्ने तर्क गरे। उनले भने, “प्रेस र अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्नु भनेको लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गर्नु हो।”
निमा काफ्लेले मिडियामा आचारसंहिताको पालना, जवाफदेहिताको अभ्यास र प्रेस फ्रिडम इन्डेक्स निर्माणको आवश्यकता औंल्याए।
रामकला खड्काले पनि अभिव्यक्ति स्वतन्त्रता दबाउन खोज्ने काम सह्य नहुने बताउँदै भनिन्, “हामी पत्रकारले पनि जिम्मेवारी बिर्सनु हुँदैन, तर स्वतन्त्रताको रक्षाका लागि सामूहिक ऐक्यबद्धता आवश्यक छ।”
कार्यक्रममा सहभागी सबै पत्रकारले सरकार र सम्बन्धित निकायहरूलाई प्रेस स्वतन्त्रता कुण्ठित नगर्न, विद्युतीय कारोबार ऐनजस्ता कानुनको दुरुपयोग नगर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।