अर्घाखाँची ।
पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गलाई जोड्ने मार्ग हो – मदन भण्डारी लोकमार्ग । गुल्मीको सिमलटारी हुँदै प्यूठानसम्म निर्माण थालिएको यस आयोजनाको निर्माण काम धमाधम भइरहेको छ । ३३ महिनामा पूरा गर्ने लक्ष्य राखिएको यो लोकमार्ग सम्पन्न भए प्यूठान, अर्घाखाँची, गुल्मीलगायत जिल्लामा कृषि र पर्यटनको विकासको ढोका खोल्ने विश्वास छ ।
गुल्मीको मदाने गाउँपालिका-७ भनभनेका खीमबहादुर जिसीलाई अहिले निर्माण भइरहेको मदन भण्डारी लोकमार्ग समयमै सम्पन्न भए आफ्नो गाउँ र सिगों लुम्बिनी प्रदेशका पहाडी जिल्लाको विकास हुने आसा पलाएको छ । आँगनबाटै ७ मिटरको पक्की सडकमा यात्रा गर्दै प्रदेश राजधानी दाङ र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा सहजै पुग्न सकिने विश्वास उनलाई छ । सडक निर्माण भए गाउाको कृषि उपजलाई सदरमुकाम तम्घाससम्म लैजान पाईने उनी बताउँछन् ।
प्यूठान, अर्घाखाची र गुल्मीलाई समेट्दै निर्माण थालिएको यो आयोजनाले गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्यूठानको स्वर्गद्वारी, गुल्मीको रिडी, रेसुंगा र अर्घाखाँचीको सुपादेउरालीलाई एक आपसमा जोड्ने काम गर्छ। त्यसबाहेक ढोर पाटन सिकार आरक्ष तथा पश्चिमका हिमाली जिल्लासम्म सहज पहुँच राख्छ ।
गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्म ३१ किलोमिटर सडक ३३ महिनामा कालोपत्रे गर्नेगरी गत अक्टोबर २२ मा १ अर्ब ४५ करोड ३२ लाख ९९ हजार नौ सय ७ रुपैयाँमा श्रेष्ठ सक्षम जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुको मुहार फेर्ने आसा गरिएको यो आयोजना सम्पन्न भए यस क्षेत्रको कृषि, पर्यटन, रोजगारी र ग्रामिण बस्ती विकासमा टेवा पुग्ने छ । आयोजनाको काम समयमै सम्पन्न भएर सञ्चालनमा आउँदासम्म यस क्षेत्रका स्थानीय तहहरुले कृषि उत्पादनलाई बढाउन आवश्यक छ । तबमात्रै सडकको उपयोगीता बढ्ने देखिन्छ ।
यी गाउँहरुलाई उक्त आयोजनाले प्यूठान, गुल्मी र अर्घाखाँचीको सदरमुकामसगं सहज पहुँच पुर्याउन मद्धत गर्ने छ । साथै कृषि, पर्यटन, रोजगारी र ग्रामिण बस्ती विकासमा यसले टेवा पुर्याउने छ ।समाचार कान्तिपुर बाट सभार गरेका हौं ।