रुपन्देही ।
लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा निमित्त निर्देशक जीवन पंगेनीले उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछिको विवाद नसल्टिदै अहिले दुवैजना कार्यालयमा हाजिर भएका छैनन् ।
दुई हप्ताअघि पंगेनीले निर्देशनालयकै उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछि उनी विवादमा तानिएका हुन् । चौधरीलाई हातपात गर्ने पंगेनीले उल्टो आफूलाई आक्रमणको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएपछि विषय थप रहस्यमय बनेको हो । अहिले कुटिने चौधरी बिदामा भारत भ्रमणमा लागेका छन् भने कुट्ने पंगेनी बिदामा काठमाडौं लागेपछि कार्यालय नै अस्तव्यस्त बनेको छ ।
पंगेनीको उजुरीपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी आएपछि छलफल गराउने भन्दै जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुले उनीहरुलाई बिदा गरेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले भने–‘दुई हप्ताअघि उजुरी आएको हो, त्यसपछि दुवै जनालाई बोलाएर राखेर कुरा गरायौं, मिल्नुभएन् । सिडिओसाब आएपछि छलफल गराउने समन्वय भएको हो । चौधरीजी बाहिर जानुभएको भन्ने जानकारी आएकोले छलफल हुनसकेको छैन ।’ घटनापछि तनावले चौधरी विदा लिएर भारत भ्रमणमा गएको निर्देशनालयका कर्मचारीले बताएका छन् तर निमित्त निर्देशक पंगेनीले चौधरीलाई स्पष्टिकरण सोधिएको तर कुनै जवाफ नदिई कार्यालयको सम्पर्कमा नरहेको जानकारी दिएका छन् । अहिले दुवै जना कार्यालयमा हाजिर छैनन् ।
घटना विवरणअनुसार पंगेनीले उपसचिव चौधरीलाई कार्यालयको कामको सिलसिलामा अर्घाखाँची जान स्वीकृत दिएका थिए । स्वीकृतिपछि चौधरी अर्घाखाँची जान तयारी गरे । तर, अर्घाखाँची जान भनेर घरबाट निस्केका उनी कार्यालयमा जाँदा कार्यालयको गाडी देखेनन् । उनले चालकलाई त्यहींबाट फोन गरे । अनि चालकले पंगेनीलाई लिएर बुटवल गएको बताए । त्यसपछि चौधरीले कार्यालय प्रमुख पंंगेनीलाई टेलिफोन गरे । पंगेनीले भने चौधरीले काम गर्ने चाहना नभएर बहानाबाजी गरेर ठग्न खोजेकाले सम्झाएको बताए । उनले एउटा गाडी मैले बुटवलको कार्यक्रममा जाँदा लगेपनि अर्को गाडी कार्यालयमै भएको विषय प्रष्ट भएको र उनी कुटिएको भए प्रहरीमा बोलाउँदा किन भागेका छन् तपाईले सोध्नुहोस भन्दै जंगिएका थिए ।
पंंगेनीले कार्यालयमा तनाबमुक्त हुन चुक्कल लगाएर बसेका थिए । त्यही विषयमा कुरा गर्न कार्यालय प्रमुखको कार्यकक्षमा गएका चौधरीले चुक्कल लगाएको कोठा ढकढक्काए । अनि, त्यही विषयलाई पंगेनीले हातपात भएको वहाना बनाए । यसबारेमा पंगेनीले भने हातपात नभएको दावी गरे । ’काम लगाउँदा काम नगर्ने अनि अनावश्यक आरोप लगाएर हुन्छ, कर्मचारीमा हुने क्षमता नै छैन, सुर्धन खोजेनन्, बसेर छलफल गरेको हो‘– उनको दावी थियो । ’कार्यालयमा उनले कस्तो हर्कत देखाए, मैले के गरें सबै सिसिटिभीमा सुरक्षित छ, यो विषय बाहिर आएपछि मैले प्रशासनमा जाहेरी दिएँ तर उनी छलफलमा नआएर भागेका छन्, अहिले म नि बिदामा छु, यो विषय मन्त्रालयका सचिवले टुंगाउनपर्ने हो उहाँबाट धेरै चासो नभएकाले म सुरक्षित हुनका लागि प्रशासन पुगेको हुँ‘– पंगेनीले भने । कार्यालयका कर्मचारीहरुले निमित्त निर्देशक पंगेनी साउन १ गतेसम्म बिदामा बसेको बताए । पंगेनी आफैले पनि आफू बिदामा बसेको बताए ।
प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उनीहरुबीच विवाद भएको र पंगेनी प्रहरीकहाँ गएर गल्ती गरेको बताए । ‘प्रहरी कहाँ गएपछि म कहाँ पनि निवेदन आएको थियो’– उनले भने । वन निर्देशक इन्द्रबहादुर पछाई असार २२ गते अवकाशमा जानुअघि दुईसाताको विदा बसेपछि पंगेनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।
सचिव कार्कीलाई भने पंगेनीले आफ्नै कर्मचारीको समस्या बुझ्न नसक्ने व्यवहार भएको गुनासो गरेका छन् । ‘सचिवज्यु केही समयमा रिटायर्ड हुँदै हुनुहुन्छ, सायद त्यही भएर विवाद मिलाउन खोज्नुभएन कि, नभए मैले सबै जानकारी उहाँलाइृ दिएको छु, १६ गते म असुरक्षित भएको जाहेरी प्रशासनमा दिएको छु उल्टो उहाँले प्रशासनमा किन गएको भनेको सुनें, यसरी पनि काम गर्ने वातावरण बन्छ?– उनले भने ।
रूकुमको त्यो घुसकाण्ड
रुकुमपूर्वमा डिभिजन वन अधिकृत रहेका पंगेनीले नौ महिनाअघि यार्सागुम्बा संकलन गर्ने एक सेवाग्राहीसंग घुस मागेको विषयमा विवादमा तानिएका थिए । घुस मागेको अडियोसहित वन तथा वातावरण मन्त्रालयमा उजुरी परेपछि छानविन भएको थियो । मन्त्रालय श्रोतकाअनुसार उजुरीपछि भएको छानविनले उनलाई दोषी ठहर गरेको थियो । छानविनपछि साविक कार्यरत रूकुमबाट प्रदेश वन निर्देशनालय भैरहवामा राखिएको थियो ।
रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटकी रसिला बुढामगरलाई पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि नियमानुसार राजश्व तिरेर वन कार्यालयको पूर्जी लिन गएका वेला कार्यकक्षमा हो हल्ला हुन्छ भन्दै निवासमा बोलाएर घुस मागेका थिए ।
लामो बार्गेनिङपछि राजश्व तिरेको बराबरको रकम खाजश्व स्वरुप दिनु भनेर सेवाग्राहीसँग घुस मागेको अडियो त्यसबेला सार्वजनिक भएको थियो । उनले सेवाग्राहीसँग लिएको रकम माथिका मन्त्री, सिडियो, पत्रकार र फाँटका अन्यलाई पनि दिनुपर्ने भनेर सेवाग्राहीसँग पैसा मागेका थिए ।
कारवाहीस्वरूप रूकुमपूर्वबाट निर्देशनालयमा तानिएका पंगेनीलाई वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी दिएपछि कार्यालयमा भाँडभैलो भएको हो । ‘व्यक्तिमा समस्या रहेछ, सिनियर भएकाले निमित्त दिइएको हो, अब सरूवा निस्कदा उपयुक्त पात्र पठाउनुपर्छ’–सचिव कार्कीले भने ।
घुसकाण्डमा कारवाहीमा परेका पंगेनीको एक वर्ष नपुग्दै महत्वपूर्ण जिम्मेवारी दिएपछि मन्त्रालयका अधिकृतहरु पनि असन्तुष्ट छन् । प्रदेश वन निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयको कामको समन्वय, अनुगमन र निर्देशन दिने गर्छ ।
आफै काज बनाउँदै बिदा बस्दै
पंगेनी निर्देशक भएपछि अहिले लुम्बिनी वन निर्देशनालयका कर्मचारीले एकले अर्कोलाई अटेर गर्न थालेका छन् । कर्मचारीले मनलाग्दी काज बनाउने र घर जाने गरेका छन् । निर्देशनालयकै सञ्जय तिवारी उपसचिव प्राविधिक नवौ तहका अर्घाखाँची काज बनाएर चितवनस्थित निवासमा गएका छन् । केहीदिन अघि पनि तिवारीले कार्यालयबाट काज बनाएर सरकारी सवारी साधन लिएर आफ्नो नीजि काममा गएको कार्यालय स्रोतले जनाएको छ ।
हालैमात्र सेवा निवृत्त भएका इन्द्रबहादुर पछाई विदा बसेपछि तिवारीले आफूलाई निमित्त बनाएर कार्यालयको सेवासुविधा लिएका थिए ।
‘हामीले बद्नाम प्रदेश भनेर प्रदेश नम्बर २ लाई भन्थ्यौं । तर, त्यो भन्दा बढी अहिले लुम्बिनी प्रदेश वन निर्देशनालय भएको छ’– कार्यालयको अवस्था लथालिङ्ग देखेका एक कर्मचारीले भने । कार्यालयमा कर्मचारी मन लागे आउँछन् । मन नलागे आउँदैनन् । अनि काज बनाएर टाप कस्छन् । कार्यालयमा तीन जना उपसचिव रहेकोमा अहिले कार्यालयमा एक जना पनि छैनन् । कार्यालयमा तीन उपसचिव पंगेनी, तिवारी र चौधरी सबै विदामा बसेपछि अहिले अलपत्रजस्तै भएको छ ।
फोटो जीवन पंगेनी