अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै अर्घाखाँची अस्पताल ले सम्भावित आपतकालीन स्वास्थ्य चुनौतीहरूको सामना गर्न ‘Rapid Action Task Force’ गठन गरेको छ।
निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक स्वास्थ्य समस्या, दुर्घटना वा अन्य आपतकालीन अवस्थालाई मध्यनजर गर्दै अस्पतालले आवश्यक योजना निर्माण, पूर्वतयारी, समन्वय तथा शीघ्र प्रतिकार्य सुनिश्चित गर्न कार्यदल गठन गरेको जनाएको छ।
अस्पताल प्रशासनका अनुसार गठन गरिएको उक्त कार्यदलले २४सै घण्टा तयारी अवस्थामा रही स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आवश्यक जनशक्ति परिचालन गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी आपतकालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिनेछ।
निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन स्वास्थ्य क्षेत्रको तयारीलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कदम चालिएको अस्पताल प्रमुख डा. जगरनाथ तिवारीले जानकारी दिएका हुन।

