काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापा पराजित भए पनि आगामी दिनमा पार्टी नेतृत्वको दाबीमा दह्रो रूपमा प्रस्तुत भएका छन् ।‘शेखरलाई मनाएर देउवासँग प्रतिस्पर्धामा उत्रनु नै थापाको राजनीतिक विजय हो,’ कोइरालापक्षीय एक नेता भन्छन्, ‘तत्काललाई अंकगणितमा पछि परे पनि नेतृत्व पुस्तान्तरण र पार्टीलाई रूपान्तरण गर्ने दिशामा उनले ठूलो सन्देश दिएका छन् ।’
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा रहेकाले देउवाले गठबन्धन दलबीच शक्ति बाँडफाँटका विषयलाई समेत थाती राखेर संसदीय दलको चुनावमा सम्पूर्ण शक्ति खर्चिएका थिए । बुधबार भएको निर्वाचनमा उनले आफूभन्दा ३२ वर्ष कान्छा थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका ८९ जना सांसदमध्ये देउवाले ६४ (७२ प्रतिशत) मत पाए भने थापाले २५ (२८ प्रतिशत) मत ल्याए । थापालाई आफ्नै समूहको सबै मत पनि आएन । नेता शेखर कोइरालाले नेतृत्व गरेको समूहमा ३२ जना सांसद थिए । कोइराला उम्मेदवार हुन नपाएको असन्तुष्टिका बीचमा खेलेर देउवाले ७ सांसदलाई आफूतिर तानेका थिए ।
‘ठीकै हो, सांसदजस्तो मान्छेलाई मोबाइल लैजान नै किन रोक्ने भन्ने त भयो तर उहाँहरूले आफूले दिएको मतको तस्बिर खिच्नुभयो, करिब १०–११ जनाले त मेरै अगाडि खिच्नुभयो, क–कसले खिच्नुभयो मलाई सबै थाहा छ, खिचेका साथीहरूले आ–आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिदिनुहोस्, मेरो आग्रह छ,’ थापाको प्रतिक्रिया थियो । थापाले कम मत पाउनुमा आफ्नो समूहभित्रको असन्तुष्टि मात्रै जिम्मेवार थिएन, नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहले उनीविरुद्ध खेलेको सक्रिय भूमिका पनि मुख्य कारण रहेको नेताहरू बताउँछन् ।
थापाको चुनौतीले पहिलो पुस्ताका देउवा र पौडेललाई मात्र नभई ६० वर्षमाथिको दोस्रो पुस्ताका सबै नेतामाथि चुनौती बढाएको थियो । पार्टीको शक्ति र नेतृत्व थापामा केन्द्रित हुन पुगेमा पार्टीमा आफूहरूको सान्दर्भिकता र सम्भावना सकिने चिन्ता उनीहरूमा थियो । ‘सिद्धान्त र निष्ठामा खोट लगाउँदै देउवासँग लामो समय अन्तरसंघर्ष गर्दै आएका पौडेलदेखि पूर्वमहामन्त्रीद्वय सिंह र कोइरालासम्मले देउवालाई साथ दिनुका पछाडि यो पनि एउटा कारण हो,’ अर्का एक नेताले भने, ‘कसैलाई राष्ट्रपति त कसैलाई मन्त्री दिने लोभबाट पनि सांसदहरू प्रभावित हुनुभयो ।’
२०५१ देखि निरन्तर सत्ताबाट ओर्लन नचाहेका देउवा छैटौंपटक प्रधानमन्त्री बनेर ‘रेकर्ड’ बनाउने दौडमा छन् । अघिल्लो पुस्तामा सबैभन्दा बढी प्रधानमन्त्रीको ‘रेकर्ड’ राख्ने नेतामा गिरिजाप्रसाद कोइराला पर्छन् । कोइराला पाँचपटक प्रधानमन्त्री बनेका थिए । देउवा पनि ०६२/०६३ को कालखण्डअघि तीनपटक र त्यसपछि दुईपटक प्रधानमन्त्री भइसकेका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशरण महत देउवालाई अघि सार्नुपर्ने अवस्था राष्ट्रिय आवश्यकतासँग जोडिएको तर्क गर्छन् । ‘अहिलेको परिस्थिति र परिवेशमा सबैलाई जोड्न सक्ने, सबैलाई मिलाउन सक्ने र प्रतिपक्षलाई समेत विश्वासमा लिन सक्ने नेतृत्व चाहिएको छ, जुन गुण सभापतिमा छ,’ उनले भने, ‘निर्वाचन परिणामले पनि त्यही सन्देश दिएको छ ।’
थापाले अपेक्षित परिणाम नआए पनि विचलित नहुने र पाँच वर्षकै बीचमा नेतृत्व परिवर्तनको मुद्दालाई सार्थक परिणाम दिन अझै मिहिनेत गर्ने बताए । विगतकै कार्यशैलीजस्तो नभएर काममा परिवर्तन देखाउन उनले देउवालाई सुझाए । पार्टी र मुलुकले खोजेजस्तो परिवर्तन वर्तमान नेतृत्वबाट हुने विश्वास भने उनलाई छैन । ‘नेतृत्व बदल्नुपर्छ भन्ने मुद्दा मेरो नियन्त्रणमा थियो, मैले सशक्त हस्तक्षेप गरें तर परिणाम मेरो नियन्त्रणमा थिएन, यसलाई मैले स्वाभाविक रूपमा लिएको छु,’ उनले भने, ‘नेतृत्व बदल्ने ठाउँमा सबैलाई जोडेर लैजाने प्रयास गर्छु । त्यो दिन केही समयको अन्तरालमै आउनेछ । यसमा मलाई विश्वास छ ।’
थापाको साथमा उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, बद्री पाण्डे र जीवन परियार थिए । संसदीय दलको निर्वाचनबाट महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्याशी बनेका प्रदीप पौडेल पनि उनीसँग जोडिएका छन् । गगन, विश्व र प्रदीपको गठजोडले तत्काल परिणाम हात नलागे पनि कांग्रेसभित्र पुस्तान्तरणको मुद्दा अघि बढाउँदै लैजाने विश्वास कांग्रेस नेताहरूले गरेका छन् । ‘हामीबीच मुद्दा र एजेन्डामा समानता छ, तन र मन पनि एकै ठाउँमा छ,’ थापाले भने, ‘निर्वाचनपछि थपिएका चुनौतीहरूलाई सामना गर्ने र एजेन्डालाई अघि बढाउने दिशामा हामी सधैं एक ठाउँमा हुनेछौं ।’
‘यो प्रयास प्रारम्भ हो, अन्त्य भएको छैन’
पराजयलाई कसरी लिनुभएको छ ?
पार्टीभित्र नेतृत्व परिवर्तनका लागि गरिएको प्रयास हो । यो प्रयास कांग्रेसमा मात्रै देखियो, अरू पार्टीमा भएन । प्रयास प्रारम्भ भएको मात्रै छ, अन्त्य भएको छैन । अहिल्यै परिणाम नआउँदा समय केही धकलिएको हो । यो सशक्त हस्तक्षेपले केही समयपछि परिणाम ल्याउन सक्छ ।
पाँच वर्षभित्रै दलको नेता बदल्न सकिन्छ भन्ने विश्वास हो ?
हो, पाँच वर्षभित्र हामी परिणाममा पुग्न सक्छौं । निर्वाचनलगत्तै यो निर्वाचन भएकाले कतिपयलाई आफ्नो आबद्धता छाडेर आउन अप्ठ्यारो पर्यो, कतिपयलाई जिम्मेवारी पाउने कुराले प्रभावित बनाएको हुन सक्छ । केही समयपछि यी सबै कुरा तुहिन्छन्, नयाँ परिवेश खडा हुन्छ ।
निर्वाचित हुनुभएका पार्टी सभापतिबाट आशाको अपेक्षा गर्न सकिन्न भन्ने निष्कर्षमै रहिरहनुभएको हो ?
निर्वाचित भएपछि राम्रो गर्नुभए हुन्थ्यो भन्ने आशा छ । नेतृत्वलाई आरोपित गर्नेभन्दा पनि आम जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न पार्टीभित्र नेतृत्व बदल्नुपर्छ, पुस्तान्तरण हुनुपर्छ । यो मुद्दा मेरो र मेरो पक्षमा मतदान गर्ने २५ जना सांसदमा मात्रै सीमित हुनेछैन । केही समयपछि नै बहुसंख्यक सांसदहरूलाई यसको बोध अवश्य हुनेछ ।
अपेक्षाअनुरूपको मत पाउन सक्नुभएन । यसले तपाईं आफ्नो मुद्दाबाट विचलित हुने अवस्था त आउँदैन ?
पक्कै आउँदैन । नेतृत्व बदल्नुपर्छ भन्ने मुद्दा मेरो नियन्त्रणमा थियो, मैले सशक्त हस्तक्षेप गरें, तर परिणाम मेरो नियन्त्रणमा थिएन । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु । अझै मिहिनेत गर्नुपर्छ भन्ने शिक्षा दिएको छ । नेतृत्व बदल्ने ठाउँमा सबैलाई जोडेर लैजाने प्रयास गर्छु । १३ औं महाधिवेशनमा महामन्त्रीमा हस्तक्षेप गर्दा ५ सय मत ल्याएको थिएँ, १४ औं महाधिवेशनमा ३ हजार बढी मत ल्याएर परिणाम दिन सकें । यस्तै परिस्थिति दलमा पनि सिर्जना हुन्छ ।
दलको निर्वाचनलगत्तै १५ औं महाधिवेशनमा सभापतिको तयारीमा अघि बढ्ने चर्चा पनि सुनिन थालेको छ, अब त्यो बाटोमा जान लाग्नुभएको हो ?
१५ औं महाधिवेशन आउन अझै तीन वर्ष बाँकी छ । यो निर्वाचनमा हामीले धेरै निर्वाचन क्षेत्रमा चुनाव लडेनौं । सिटले ठूलो भए पनि हामीले ५/७ लाख मत गुमाएका छौं । जनतामा छाएको निराशाकै कारण नयाँ परिस्थिति खडा भएको मात्रै होइन, नयाँ दलसमेत आएका छन् । यसले नयाँ चुनौती खडा गरेको छ । यी सबै कुरालाई केन्द्रमा राखेर पार्टीभित्रको शुद्धीकरण र पुनर्जागरणको अभियान अघि बढाउने योजना बनाएका छौं ।
दलको निर्वाचनमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि जोडिनुभयो । तपाईंसमेत तीन युवा नेता सँगै अघि बढ्छन् ?
संसदीय फाँटमा हामी सँगै आयौं, पछि पनि सँगै जान्छौं । पार्टीको नेतृत्व बदल्नेदेखि देशको परिस्थिति बदल्नेसम्मका मुद्दामा साझा एजेन्डा छ । हाम्रो तन, मन र मत सबै मिल्छ । हामी सँगै गएर दलमा फेरि हस्तक्षेप गर्छौं ।
सरकारमा सहभागी हुने अफर तपाईंलाई आयो भने जानुहुन्छ ?
नैतिक रूपले पनि म सरकारमा जाने कुरा हुन्न । तर, सरकार सञ्चालनका तरिकासँग हाम्रा केही सरोकार छन् । पुरानै तरिका र कार्यशैलीले सरकार चलाउने कुरामा सहमत छैनौं । प्रधानमन्त्रीको कार्यालयलाई कसरी प्रभावकारी बनाउने ? सरकार कसरी सञ्चालन गर्ने भनेर केही समयदेखि तयारी गरेको थिएँ, त्यो मेरो निजी सम्पत्ति होइन । अब बन्ने प्रधानमन्त्रीलाई सरकार यसरी सञ्चालन हुनुपर्छ भन्ने कुराहरू हुन्छन् ।
अब सरकारको नेतृत्व कसले लिने अवस्था हुन्छ ?
संसदीय दलको निर्वाचन सकिएपछि अब स्वाभाविक रूपमा ठूलो दलको हैसियतले कांग्रेसले दाबी गर्ने कुरा हुन्छ । तर, गठबन्धनभित्र जे कुरा हुन्छन्, ती पारदर्शी हुनुपर्छ । पारदर्शी भएन, सम्बन्धित कमिटीमा छलफल भएन र कुनै अँध्यारो कोठामा नेताहरू बसेर निर्णय गरियो भने त्यसको भारी पार्टीले बोक्न सक्दैन । व्यक्तिगत निर्णयमा दर्द हुन्छन् । सरकारको नेतृत्व आलोपालो गर्ने, राष्ट्रपति कसले लिने, को बन्ने जस्ता विषयमा हुने छलफल पारदर्शी हुनुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ