अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पिताम्बर भुसालले मकैबारी बाँदरबाट जोगाउन सीसी क्यामेराको प्रयोग गर्न थालेका छन्। बारीमा जडान गरिएका क्यामेराले बाँदर आउँदा मोबाइल र कम्प्युटरमा संकेत दिन्छ। त्यसपछि उनी दौडिएर बाँदर लखेट्छन्।
५० बोट आँप फलेको बारीमा यसपालि ५० क्विन्टल आँप बेचेर लाखौं कमाइ गरेका छन्। मकै, सिमी, फर्सी, काँक्रो आदि खेतीसमेत गरेका भुसाल अब प्रविधिको भरमा आँपखेती विस्तार गर्ने योजना बनाइरहेका छन्।
भुसाल भन्छन्, “मान्छे उभ्याएर सम्भव छैन, अब नयाँ प्रविधिकै भर पर्नुपर्छ।” “बारीभित्र अब तीनवटा क्यामेराले सुरक्षा दिन्छन्। निकट भविष्यमै ड्रोनमार्फत सिँचाइ र कीटनाशक छर्ने योजना पनि बनाएको छु ।”
अहिले एउटा बिघा बारीमा उनले तीन वटा सीसी क्यामेरा जडान गरेका छन्, जसले सम्पूर्ण क्षेत्र नियालिरहेका छन्।

