नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले ५ वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै विकासका योजना सञ्चालन गरेको बताए । उनले सञ्चालनमा रहेका सडक, पूर्वाधार विकास, खानेपानी, सिचाई, सहज स्वास्थ्य सेवा, शिक्षामा गुणस्तरवृद्धि, सडक कालोपत्रे, पर्यटन विकास, पूर्वाधार निर्माण लगायतका काम केही सम्पन्न र केही योजना सञ्चालनमा रहेकाले ती योजना पुरा गर्न र नयाँ योजना भित्रिएर विकास गर्न आफुलाई मतदाताले भारी मतले जिताउने बताए ।
‘विकासमा युगन्तकारी महत्व राख्ने योजना भित्राउँछु,’ एमाले निकट अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको भेलालाई बुटवलमा सम्बोधन गर्दै घिमिरेले भने, ‘विकासका नयाँ आयाम, परियोजनाहरु, जुन परियोजनाहरु जनताको जीवनस्तर माथि उठाउनेछ । शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार गर्ने मेरो प्रतिबद्धता हो ।’
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य हरिकृष्ण गौतम, इश्वरीप्रसाद पोखरेल, केन्द्रीय सल्लाहकार सदस्य प्रदीप खनाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम डबल बिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।