नेपाल राज्य संवाददाता
अर्घाखाँची– प्रजातन्त्रप्राप्ति पछि कांग्रेस, कम्युनिष्ट र राजावादी नेताहरु राज्यसत्ता तथा पाटी नेतृत्वमा अर्घामै जन्मिएका नेता पुगेका छन् । पाटीको जिल्ला देखि केन्द्र र मन्त्री, सांसदसम्म अर्घा गाउँकै रजगज छ ।
को–को छन् त अर्घाका ?
टोपबहादुर रायमाझी
हाल नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझी अर्घामै जन्मिएका हुन । माओवादी जनयुद्धमा पश्चिम कमाण्ड इन्चार्ज भएर काम गरेका उनी शान्ति प्रक्रियापछि पहिलो, दोस्रो संविधानसभा चुनावमा विजयी भए । माओवादी पाटीको केन्द्रीय सचिवसम्म भए । २०७४ को चुनावमा वाम गठबन्धनमा एमालेको सहयोगमा तेस्रो पटक सांसद जिते । पटकपटक मन्त्री, संसदीय दलको उपनेता र उपप्रधानमन्त्री बनेका उनी माओवादीमा डा.बावुराम भट्टराईका विश्वास पात्र थिए । त्यतिबेला माओवादीमा प्रचण्ड र बावुराम गुटमा बावुरामको गृह जिल्ला गोरखा भन्दा अर्घाखाँचीमा बलियो रहेको भनिन्थ्यो । भट्टराइले पाटी छाडेर नयाँ शक्ति निर्माण गर्दा रायमाझी माओवादीमै बसे ।
एमाले र माओवादी एकता भयो । पछि विभाजन हुँदा उनी प्रचण्डलाई छाडेर केपी ओलीतिर लागे । अहिले उनी एमाले सचिव छन् । ओलीले उनलाई पहिलो परियतामा सचिव बनाएका छन् । मन्त्री भएको बेला र नभएको बेला जिल्लामा धेरै बस्ने नेता अन्तरगत पर्छन् ।
पुष्पा भुसाल
पाणिनि पोखराथोकमा जन्मिएर अर्घाका डा. चोपलाल भुसालसँग विवाह गरेकी पुष्पा भुसाल गौतम अहिले संघीय सांसदको उपसभामुख छिन् । चोपलाल राजदुत भैसके । अर्घामै जन्मिएका मानबहादुर विक कांग्रेसको पूर्वकेन्द्रीय सदस्य र संघीय सांसद छन् । पुष्पा राष्ट्रिय राजनीतिमा अब्बल महिला हुन ।
पहिलो संविधानसभामा तत्कालिन निर्वाचन क्षेत्र २ बाट सांसदमा विजयी भइन । पछि समानुपातिक सांसद भुसाल कांग्रेसको केन्द्रीय सदस्य, संघीय संसदीय दलकी सचेतकको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । पुष्पा २०३० सालमा कांग्रेसबाट मन्त्री भएका काँशिनाथ गौतमकी छोरी हुन ।
डिलाराम आचार्य
माओवादी केन्द्रको शनिवार काठमाडौंमा बसेकोे बैठकले अर्घामै सामान्य परिवारमा जन्मिएका डिलाराम आचार्यलाई केन्द्रीय सचिव पदको जिम्मेवारी दिएपछि अर्घा थप शक्ति केन्द्रको शिखरमा पुगेको छ । २०५६ सालको संसदीय चुनावमा एमालेको सहयोगमा राजमोबाट चुनाव जितेर सांसद बने । राजमोको केन्द्रीय महासचिव भए । महामन्त्री मोहनविक्रम सिंहसँग असमझदारी बनेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यसपछि रुपन्देहीबाट सांसदको उम्मेदवार बने । तर, जितेनन् । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नजिक रहेका आचार्यलाई बैठकले सचिव पदको जिम्मेवारी दिएको छ ।
रेवतीप्रसाद भुसाल
अर्घाकै रेवतीप्रसाद भुसालले दुई पटक सांसद जितेर पर्यटन राज्यमन्त्री समेत भए । कांग्रेसको मनोनित केन्द्रीय सदस्य बने । कांग्रेसको महाधिवेशनमा जिल्ला नेतृत्व चयनमा रेवतीले समर्थन गरेको उम्मेदवार नै पाटी सभापति बन्दै आएको छ । भुसाललाई कांग्रेस भित्र कुटिल राजनीतिज्ञ नेताको रुपमा लिइन्छ ।
चेतनारायण आचार्य
अर्घामै जन्मिएका चेतनारायण आचार्य एमाले जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य र प्रदेश सांसद छन् । एमालेभित्र अब्बल नेताको रुपमा परिचित छन् । लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री भए । आचार्य पाटी अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन । अहिले एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्जको जिम्मेवारीमा रहेका छन् ।
ठाकुरकुमार विक
पाणिनि बहुमुखी क्याम्पस पढ्दै गर्दा तत्कालिन राज्यपक्षबाट गिरफ्तार गर्ने प्रयास ग¥र्याे । त्यसपछि उनी भूमिगत भएर काम गरे । माओवादी पाटी जनयुद्धकै बेला जिल्ला सेक्रेटरी भए । शान्ति प्रक्रियापछि पनि त्यही जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्जको भूमिकामा छन् । विक सन्धिखर्क नगरपालिका निर्वतमान उपप्रमुख हुन ।
मधु क्षेत्री
अर्घामै जन्मिएका मधु क्षेत्री राष्ट्रिय जनमोर्चाको केन्द्रीय कोषाध्यक्ष छन् । केही वर्ष भारतमा बसेर पाटी संगठन गरेका क्षेत्री हाल काठमाडौमा बस्छन् ।
गणेश थापा
तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा गणेश थापा जिल्ला विकास समितिको सभापति भए । उनी राप्रपाको केन्द्रीय सदस्य छन् ।
आउँदो मंसिर ४ गते हुने चुनावमा पनि अर्घालीकै चर्चा
सरकारले घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि अर्घालीकै चर्चा छ । एमालेबाट टोपबहादुर रायमाझी निर्विकल्प जस्तै छन् । कांग्रेस, माओवादी केन्द्र सहित ५ दलीय गठबन्धन भएरै चुनावमा जाने भनिएको छ । कांग्रेसबाट संघीय संसद उपसभामुख पुष्पा भुसाल, नेता रेवतीप्रसाद भुसालको चर्चा छ । गठबन्धनमा सिट बाँडफाँडमा अर्घाखाँची माओवादी केन्द्रलाई पर्ने र डिलाराम आचार्य उम्मेदवार हुन सक्ने संभावना पनि उत्तिकै छ ।