अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई सम्मान गरेको छ। जिल्लामा आयोजित कार्यक्रममा महासंघले सांसद भुसालको योगदान र सञ्चार क्षेत्रमा सहकार्यमा देखाएको इच्छालाई सम्मान स्वरूप प्रस्तुत गरेको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायत क्रियाशील पत्रकारहरूले सहभागिता जनाएका थिए। सम्मान ग्रहण गर्दै सांसद भुसालले पत्रकारितासम्बन्धी समस्या आफूलाई नजिकबाट जानकारी भएको र पत्रकार तथा जनप्रतिनिधिबीचको सम्बन्ध कहिल्यै टाढा नहुनुपर्नेमा जोड दिएका हुन् । सञ्चारकर्मीका हकहित र क्षेत्रको विकासमा सदैव सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त समेत गरे।

कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे सांसदसँग छलफल गरेका थिए। यस क्रममा पत्रकार र सांसदबीच क्षेत्रीय विकासका लागि सहकार्यका अवसरहरू पनि के कस्ता रहेका छन् यसबारे छलफल भएको थियो ।

