अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका पूर्व सांसद तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। यही कानुनी झमेलाका कारण फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने उनको चाहना यसपटक पूरा हुन सकेन।
२०६४ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका रायमाझी पूर्व नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेसम्म आइपुग्दा पनि आफ्नो निर्वाचन जित्ने यात्रा निरन्तर कायम राख्दै आएका नेता हुन्। जनयुद्धपछि माओवादी आन्दोलनबाट उदाएका रायमाझी अर्घाखाँचीको राजनीतिक समीकरणमा सधैं निर्णायक पात्रका रूपमा चिनिँदै आएका थिए। उनी एमालेका केन्द्रीय सचिवसमेत बनेर पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका थिए ।
राजनीतिक उचाइमा रहेका बेला उनी उपप्रधानमन्त्रीसम्म बनेका थिए। सत्ता र संगठन दुवैमा प्रभावशाली मानिएका रायमाझीको राजनीतिक यात्रामा भुटानी शरणार्थी प्रकरण एउटा ठूलो धक्का सावित भएको छ। मुद्दा विचाराधीन रहेकै कारण यसपटक अदालतसम्म पुगेर उम्मेदवारी दिन पाउनुपर्ने माग राखे पनि फैसला नआएकाले उनी निर्वाचन प्रक्रियाबाट बाहिरिन बाध्य भए।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रायमाझीले एमालेको तर्फबाट उम्मेदवारी दिँदै ४२ हजार ६७५ मत प्राप्त गरी विजयी भएका थिए। उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई १ हजार ७३० मतको अन्तरले पराजित गरेका थिए। भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन्। कडा प्रतिस्पर्धाका बीच पनि रायमाझीले जित निकाल्नु उनको राजनीतिक पकडको प्रमाण मानिएको थियो।
यसपटक भने परिस्थितिले पूर्णतः फरक मोड लिएको छ। निरन्तर चुनाव जित्दै आएका नेता उम्मेदवार बन्नसमेत नपाउने अवस्थामा पुग्नु अर्घाखाँचीको राजनीतिमा निकै अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। समर्थकहरूका अनुसार लामो समयसम्म मतदाताको विश्वास जित्दै आएका नेता कानुनी प्रक्रियामा अल्झिएर निर्वाचनबाट बाहिरिनु दुर्भाग्यपूर्ण अवस्था हो।
यद्यपि थुनामा रहे पनि रायमाझी राजनीतिक रूपमा पूर्णतः मौन छैनन्। भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनले जेलबाटै एमाले अर्घाखाँचीका उम्मेदवार पिताम्बर भुसालको पक्षमा समर्थन जनाएका छन्। उनको समर्थनले एमालेको चुनावी रणनीतिमा केही उत्साह थपिएको पार्टी स्रोतको दाबी छ।
लामो समयदेखि निर्वाचन जित्दै आएका, संगठन र सरकार दुवै तहमा प्रभाव जमाएका टोपबहादुर रायमाझीको राजनीतिक यात्रा अहिले अनिश्चित मोडमा पुगेको छ। मुद्दाको अन्तिम फैसला कहिले हुन्छ र त्यसपछि उनको राजनीतिक भविष्य कुन दिशामा जान्छ भन्ने प्रश्न अहिले अर्घाखाँची मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत चासोको विषय बनेको छ। जिल्लामा २०९ मदान केन्द्रमा कुल मतदाता १ लाख ७१ हजार ६ सय ५२ रहेका छन् ।

