अर्घाखाँची । क्यान्सरसँग संघर्षरत सन्जय घर्तीको जीवन रक्षाका लागि परिवार द्वारा आर्थिक सहयोगको अपिल गरेको छ।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–३, खनदह साबडाँडा खोल्सी स्थायी घर भई लामो समयदेखि दाङमा सामान्य व्यापार गर्दै आफ्नो जीविकोपार्जन गर्दै आएका सन्जय घर्ती (जि.सी.) हाल क्यान्सर स्वास्थ्य समस्याका कारण जीवन–मरणको संघर्षमा छन् ।
घर्ती मुखको क्यान्सर रोगबाट पीडित भई हाल भरतपुरस्थित बि.पी. मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । यसअघि उहाँको दुई पटक शल्यक्रिया भइसकेको छ। गत श्रावण महिनादेखि निरन्तर उपचारमा रहेका घर्तीको उपचार प्रक्रिया परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण अझै लामो र खर्चिलो बन्दै गएको हो।
निरन्तर उपचार, शल्यक्रिया, औषधि र अस्पताल बसाइको खर्च अत्यधिक बढेपछि आर्थिक अभावका कारण आवश्यक थप उपचारमा ढिलाइ हुन थालेको छ। सामान्य व्यापारबाट जीवन चलाउँदै आएको परिवारका लागि यति ठूलो उपचार खर्च धान्न कठिन भएको छ। उपचार समयमै नपाउँदा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै जाने जोखिम रहेको परिवारले बताएका छन्।
सन्जय घर्ती केवल एक बिरामी मात्र होइनन्, एक परिवारका अभिभावक, अर्घाखाँची बासी समाजका मेहनती नागरिक र जीवनप्रति आशा नछोडेका संघर्षशील व्यक्ति हुन् । उनको शीघ्र उपचार र जीवन रक्षाका लागि अहिले सबैको साथ, सहयोग र संवेदनशीलता अत्यन्त आवश्यक छ।
यस कठिन घडीमा मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सबै दाजुभाइ, दिदीबहिनी, शुभेच्छुक तथा सहयोगी मन भएका महानुभावहरूलाई आफूखुसी, सक्दो आर्थिक सहयोग गरी जीवन बचाउ हातेमालो गरिदिन उनको श्रीमती कमला घर्ती जि.सीले हार्दिक अपिल गरेकी हुन् । सानो आर्थिक सहयोगले पनि ठूलो आशा जगाउन सक्छ र एक जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
सहयोग नै सबैभन्दा ठूलो मानव धर्म हो। सन्जय घर्तीको उपचारमा तपाई हाम्रो सहयोग नै उहाँका लागि नयाँ जीवनको आशा बन्न सक्छ।

