अर्घाखाँची – अर्घाखाँची जिल्लामा सक्रिय आठवटा प्रमुख राजनीतिक दलहरूले अर्घाखाँचीस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई रुपन्देही स्थानान्तरण गर्ने तयारीको कडा विरोध गरेका छन्।
मंगलबार दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्यालय सार्ने निर्णय तत्काल रोक्न माग गरेका हुन्।
ज्ञापनपत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बी.के., राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन बहादुर के.सी., जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज नेत्र बहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता विनोद आचार्य, कांग्रेस जिल्ला सदस्य लिलाराम गौतम, हरि प्रसाद दमासे र जनमोर्चाका नेता गोबिन्द भट्टराई लगायत छन्।
दलहरूले कार्यालय स्थानान्तरणको निर्णय फिर्ता नभए जिल्लाभर कठोर आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।

