अर्घाखाँची । मालारानी गाउँपालिका–५ बाँगी निवासी मृगौला पीडित पूर्णबहादुर कुँवर को उपचारमा सहयोग गरी जीवन बचाइदिनुहुन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।
विगत केही दिनदेखि मृगौला फेल भएपछि बुटवलमा उपचार गराउँदै थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि हाल काठमाडौं टिचिङ हस्पिटलमा करिब १० दिनदेखि उपचाररत छन् । उपचार प्रक्रिया लामो र खर्चिलो बन्दै जाँदा आवश्यक रकमको अभाव भएपछि परिवारले आर्थिक सहयोगको आशामा सबैसमक्ष अपिल गर्न बाध्य भएको भाइ हुम ब. कुँवरले बताएका छन् ।
अहिले नियमित डायलाइसिस, औषधि, जाँच तथा अस्पताल बसाइ अनिवार्य भएको छ। काठमाडौंमा महँगो स्वास्थ्य खर्चले परिवारलाई गहिरो आर्थिक संकटमा पारेको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन अत्यन्त कठिन भइरहेको हो ।
मृगौला पीडित ४५ वर्षीय पूर्णबहादुर कुँवरका दुवै मृगौला पूर्ण रूपमा फेल भइसकेको ले हाल उहाँ जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेका छन् । मृगौलाले काम गर्न छोडेको थाहा पाएसँगै सामान्य जीवन बिताउने, राम्रो खाने र परिवारसँग सुखी भविष्य बनाउने उहाँका सपना आज रोगको पहाडले छेकिएका छन्। तर पीडाको बीचमा पनि उहाँसँग नयाँ जीवन पाउने आशा बाँकी छ।
समयमै उपचार र सबैको साथ पाए उहाँ फेरि जीवनतर्फ फर्किन सक्ने आशा छ। सानो सहयोगले पनि उहाँको उपचारमा ठूलो अर्थ राख्छ र एउटा परिवारलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउन सक्छ।
मानवताको नाताले सक्दो सहयोग गरी एक जीवन बचाउने अभियानमा साथ दिनुहुन बाँगी नवदिप युवाक्लबका अध्यक्ष सुर्य कुँवरले सबैमा विनम्र अनुरोध गरेका छन् ।

