रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आजदेखि रुपन्देही बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पताल र दाङको घोराहीस्थित राप्ती प्रादेशिक अस्पतालमा बिरामीहरुका लागि निःशुल्क चेकजांच, निःशुल्क बेड तथा रगत सेवा शुभारम्भ गरेको छ । लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९।८० को नीति तथा कार्यक्रममा नै यसलाई राखेर यी दुई प्रादेशिक अस्पतालमा निःशुल्क बहिरंग (ओपीडी), आकस्मिक र जनरल वार्डमा भर्ना हुने बिरामीहरुका लागि निःशुल्क सेवा सुरु गरेको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले निःशुल्क सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । प्रदेश सरकारले मातहत रहेका यी दुई अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घोषण गर्दै चालु बर्षको बजेटमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको थियो । प्रदेश सरकारले बजेटमा घोषणा गरेबमोजिम प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा तथा जनरल बेडमा अव देखि कुनैपनि शुल्क नलाग्ने लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक र ओपिडी गरी दैनिक ८ सयदेखि १ हजार जनासम्म बिरामीहरुले सेवा लिने गरेको अस्पतालले जनाएको छ । बिरामीहरुलाई टिकट शुल्क नलाग्ने भएपनि अभिलेखका लागि विरामीहरुले अस्पतालको टिकट काउन्टरबाट निःशुल्क टिकट भने लिनुपर्ने डा. ढकालले बताए । यसैगरी आजबाटै प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि विभिन्न नाममा लिइँदै आएको शुल्कसमेत बुझाउनुपर्ने छैन ।
बिरामीका लागि दाताहरुले रगत निःशुल्क उपलब्ध गराएपनि रगत प्रयोगकर्ताले ब्याग लगायतका सामग्रीका नाममा प्रतिब्याग ८ सय रुपैयाँ बुझाउँदै आएका थिए । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको रक्त सञ्चार केन्द्रले जनाएको छ । सरकारले बजेटमा निःशुल्क रगतका लागि ३ करोड रुपैयां वजेट बिनियोजन गरेको छ । अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त संचार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा निःशुल्क रगत उपलब्ध गराउने छ । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले अहिले सुरुवाती चरणमा दुई प्रादेशिक अस्पतालबाट सुरु भएका यी सेवालाई बिस्तार गरिने बताए ।