अर्घाखाँची । अर्घाखाँची जिल्लाको सांस्कृतिक, आर्थिक र पर्यटकीय पहिचानलाई उजागर गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको सातौं अर्घाखाँची महोत्सव पूर्ण उत्साहका साथ जारी छ। चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा पुष २७ गतेदेखि सन्धिखर्कको कुँडुले फाँटमा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति चलिरहेकाले दर्शकको उल्लेख्य सहभागिता देखिएको हो।
महोत्सवमा दर्शकको भीड उल्लेखनीय रहेको छ। पुष २८ गते गायक बद्री पंगेनी, गायिका वर्षा थापा र जादुगर राजेन्द्र गिरीले प्रस्तुत गरेको कार्यक्रमले दर्शकलाई झुमाएका थिए। पुष २९ गते गायिका ज्योति मगर, बसन्ता खनाल र गायक दामोदर बस्यालको ऊर्जावान प्रस्तुतिले महोत्सवको माहोल थप उत्साहपूर्ण बनायो।
त्यसैगरी पुष ३० गते गायक अर्जुन सापकोटा र बालकलाकार जिया भुसालको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण रह्यो। माघ १ गते गायक प्रकाश सपुत, गायिका दुर्गा नेपाल, संगीता चितौरे र गायक नमराज पाण्डेले उत्कृष्ट सांगीतिक प्रस्तुति दिए भने माघ २ गते गायक कुलेन्द्र विक, कुशल बेल्बासे, गायिका शिला गुरुङ र आस्मा बन्जाडे लगायतका कलाकारहरूले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका हुन् ।
आज माघ ३ गतेको कार्यक्रम विशेष रहने आयोजकले जनाएको छ। भोलि “स्टेज किङ”का रूपमा चिनिने चर्चित गायक दुर्गेश थापा, गायिका सम्झना रणपाल, गायक योगराज पोख्रेल तथा स्थानीय कलाकार ठाकुर गन्धर्व र अञ्जली विश्वकर्माको प्रस्तुति रहनेछ। कार्यक्रमको उद्घोषक पत्रकार कमल बिष्टले गर्नेछन्।
महोत्सवले अर्घाखाँची जिल्लाको पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। स्थानीय व्यवसायी, किसान र उद्यमीहरूका लागि बजार विस्तारको अवसर सिर्जना हुनुका साथै आर्थिक गतिविधि चलायमान बनेको चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
महोत्सव सांस्कृतिक धरोहर संरक्षणसँगै जिल्लाको आर्थिक समृद्धिको आधार बनेको छ। हजारौं दर्शकको सहभागिताले यसको सफलताको पुष्टि गरेको छ। महोत्सवस्थलमा स्थानीय उत्पादन, मनोरञ्जन खेल, कृषि सामग्री, हस्तकलाका सामग्री तथा विभिन्न वस्तुका स्टलहरू राखिएका छन्। दर्शकहरूले सांगीतिक मनोरञ्जनसँगै स्थानीय उत्पादनको अवलोकन, स्वाद र खरिदको अवसरसमेत पाएको चेम्बर अफ कमर्स अर्घाखाँचीका सचिव प्रेम थापाले बताएका हुन् ।

