काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन् । निर्वाचनमा खटिएका एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र छिमेकी मुलुक भारतबाट आयात गरिएको बेतको लट्ठी प्रदान गरिएको हो ।
नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई स्वदेशी जुत्ता अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । उनीहरूले बोक्ने बेतको लट्ठी भने स्थानीय उत्पादनले अपुग हुँदा छिमेकी मुलुक भारतबाट आयात भएको हो ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन प्रहरीलाई स्वदेशी उत्पादन गोल्डस्टार प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिए। “जुत्ता हामीले उपलब्ध गराउने होइन निर्वाचन प्रहरी आफैँले खरिद गर्नु पर्छ,” जुत्ता सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्न भनिएको छ ।’’ पोसाक र बेतको लट्ठी स्थानीय उत्पादनले नपुगेपछि व्यापारीले भारतबाट समेत ल्याउने गरेको उनले जानकारी दिए।
निर्वाचन अवधिमा एक लाख ३३ हजार ९८० जोर जुत्ता र सोही सङ्ख्यामा बेतको लट्ठी खपत हुने गर्छ । प्रतिव्यक्ति एक जोरका दरले पोसाकसमेत एक लाख ३३ हजार ९८० जोर खपत हुने गर्छ । धेरै जोर पोसाक खपत हुने हुँदा सिउन नभ्याएकाले पनि व्यापारीले भारतबाट आयात गरेको नेपाल प्रहरीले जनाएको छ ।
गोल्डस्टारसँगै नाइक कम्पनीको जुत्तासमेत प्रयोग गर्न भनिएको काफ्लेले जानकारी दिए तर नाइकका जुत्ता महँगो पर्ने गर्छ । निर्वाचन प्रहरीका लागि सरकारले पोसाकको पैसा दिने र व्यक्ति स्वयम्ले खरिद गर्नुपर्ने व्यवस्था छ । बजारमा गोल्डस्टार जुत्ताको मूल्य न्यूनतम पाँच सयदेखि पाँच हजार रुपियाँ रहेको छ । निर्वाचनमा जुत्ताको खपत धेरै भएपछि कारोबारसमेत धेरै हुने गर्छ ।
निर्वाचन प्रहरीका निम्ति प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८६९.४० रुपियाँका दरले ४० दिनसम्मका लागि ३४,७७६ रुपियाँ तोकिएको छ ।
मतदानको दिनअघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन तीन सय रुपियाँका दरले एकमुष्ट एक हजार दुई सय रुपियाँ खाजा खर्च उपलब्ध गराइने छ ।
गोल्डस्टार कम्पनी (सुज म्यानुफ्याक्चरर प्रालि) ले विभिन्न नाममा वार्षिक एक करोड ६६ लाख ५० हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले बढी मात्रामा भने गोल्डस्टार ब्रान्ड नाममा जुत्ताको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले नेपालभरमा ६० वटा डिलरमार्फत जुत्ता वितरण गर्दै आएको छ ।
नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अनुसार अहिले मुलुकमा ठुला, मझौला, साना र लघु उद्यम गरी करिब एक हजार छ सय जुत्ताचप्पल उद्योग सञ्चालनमा छन् ।
तिनमा सडकको घुम्तीमा बसेर जुत्ता सिलाउनेदेखि निर्यात गर्नेसम्मका उद्योगमा सामान्यदेखि स्तरीय जुत्ता उत्पादन हुने गर्छन् । सडकमै चल्ने साना उद्योग एक हजार दुई सय वटा छन् । दैनिक एक सयदेखि एक हजार जोर जुत्ता उत्पादन गर्ने उद्योगको सङ्ख्या २४० छ । सङ्घका अनुसार पाँच हजारदेखि ७० हजार जोरसम्म दैनिक उत्पादन गर्ने उद्योग ६० वटा छ । बजारमा विभिन्न ब्रान्डका जुत्ता खपत हुने गर्छ । जुत्ताचप्पलको कच्चा पदार्थ स्थानीयस्तरमा उत्पादन नहुँदा व्यवसायीले बाहिरी मुलकबाट आयात गर्ने गरेका छन् । अहिले उद्योगले जुत्ताचप्पल बनाउन ७५ देखि ९० प्रतिशतसम्म कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात गर्दै आएका छन् ।
नेपालमा जुत्ताचप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ थाइल्यान्ड, जापान, कोरिया, सिङ्गापुर, भारत, नेदरल्यान्ड, चीन, ताइवानलगायतका मुलुकबाट आउँछ । धेरै कच्चा पदार्थ छिमेकी मुलुक भारत र चीनबाट आउँछ । गोल्डस्टार, मिलानोलगायतका केही ब्रान्डले भारतसहित विभिन्न मुलुकमा निर्यात गर्दै आइरहेका छन् ।

