अर्घाखाँची । नेकपा एमालेबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पिताम्बर भुसाल जिल्लामा अनुभवी राजनीतिज्ञ तथा समाजसेवीका रूपमा परिचित छन्। अर्घाखाँचीको बाँगी गाविसमा २०२७ सालमा जन्मिएका भुसालले १४ वर्षको उमेरदेखि नै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।
आदर्श माध्यमिक विद्यालय, खनदहमा अध्ययनरत रहँदै प्रगतिशील विद्यार्थी आन्दोलनमा सक्रिय बनेका भुसाल २०५४ सालको स्थानीय तह निर्वाचनमा बाँगी गाविसबाट नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि गाउँ, इलाका र क्षेत्र हुँदै जिल्ला कमिटी सदस्य बनेका उनी हाल अर्घाखाँची जिल्लामा दोस्रो कार्यकालका लागि एमाले जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्। गत निर्वाचनमा चौतर्फी घेराबन्दीका बीच पनि एमाले अर्घाखाँचीलाई शीर्ष स्थानमा पुर्याएका थिए।
जिल्लाको भूगोल, सामाजिक संरचना, धर्म–संस्कृति र जनआकांक्षाबारे राम्रो जानकारी राख्ने नेताका रूपमा चिनिएका भुसालले अर्घाखाँचीमा एमालेको संगठन विस्तार र निर्वाचन सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको पार्टीको दाबी छ। २०५६ सालको संसदीय निर्वाचनमा डा. दिलीराज खनाललाई विजयी गराउनदेखि २०७० मा दुमन थापा र त्यसपछि टोपबहादुर रायमाझीको निर्वाचन सफलतासम्म उनको सक्रिय भूमिका रहेको बताइन्छ। २०७९ सालको प्रदेश तथा संघीय निर्वाचनमा जिल्लामा एमालेको क्लिनस्वीपमा पनि उनको योगदान उल्लेखनीय रहेको पार्टी नेताहरूको भनाइ छ। सोही आधारमा एमालेले अर्घाखाँचीलाई उत्कृष्ट जिल्ला घोषणा गरेको थियो।
भुसाल मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) का पक्षधर हुन्। एमालेले मार्क्सवाद–लेनिनवादलाई आत्मसात गर्दै “जसको नीति, उसैको नेतृत्व” भन्ने सिद्धान्तमा अघि बढेको उनी बताउँछन्। मजदुर, किसान, विपन्न वर्ग तथा सबै जातजाति, भाषाभाषी र संस्कृतिको सम्मान गर्ने पार्टीका रूपमा एमाले रहेको उनको धारणा छ।
अर्घाखाँची जिल्लामा कृषि मुख्य पेशा भएकाले आधुनिक कृषि प्रणाली, उन्नत बिउ–मल, कृषि यान्त्रिकरण, गुणस्तरीय शिक्षा, खानेपानी र स्वास्थ्य सेवामा सुधार उनका प्राथमिकता हुन्। नौमुरे जलविद्युत आयोजना सञ्चालन, उत्पादनमूलक उद्योग स्थापना, रोजगारी सिर्जना र वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काउने योजना पनि उनले अघि सारेका छन्।
धार्मिक तथा पर्यटन विकासमा पनि भुसाल सक्रिय देखिन्छन्। सुपा देउराली मन्दिर, पाणिनी तपोभूमि, कालिकाठी मन्दिर, सत्तले गुफा, अर्घा, मालारानी र छत्रदेव मन्दिरजस्ता स्थलहरूको पूर्वाधार विकास र प्रवर्द्धनमा उनले भूमिका खेलेको स्थानीयहरूको भनाइ छ। ढोरपाटन–सुपा देउराली सडकसहित जिल्लाका मुख्य सडक, खानेपानी र सिँचाइ आयोजनालाई व्यवस्थित बनाउने योजना पनि उनका प्राथमिकतामा छन्।
एमालेका अनुसार अनुभव, संगठन क्षमता र विकास योजनाका कारण पीताम्बर भुसाल अर्घाखाँचीमा बलिया उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी एमालेको तर्फबाट मैदानमा छन्।

