नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आउँदो संघ र प्रदेशसभाको चुनावपछि एमालेले बहुमतको सरकार बनाएरै देशको विकास गर्ने बताए । उनले एमालेले कम्तिमा ५१ प्रतिशत सांसद संख्या जितेर बहुमत ल्याउने दावी गरे ।
प्रेस चौतारीले शनिवार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका रायमाझीले जनताको विश्वास एमालेले जितेको बताए । पाटीलाई वैचारिक रुपमा अनुशासित बनाउन ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गरिएको रायमाझीको तर्क छ ।
पत्रकार सम्मेलन कार्यक्रममा एमाले स्थानीय कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्य एवं प्युठान इन्चार्ज सूर्य थापा, पोलिटब्युरो सदस्य विमला घिमिरे, एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतका नेताको उपस्थिति रहेको थियो ।
कार्यक्रम चौतारीका जिल्ला अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष करिष्मा खनालको सञ्चालन र वरिष्ठ पत्रकार एवं चौतारीका लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।