अर्घाखाँचीबाट तीनपल्ट लगातार चुनाव जितेर ‘ह्याट्रिक’ गरेका टोपबहादुर रायमाझी चौथो पल्ट चुनाव जित्ने योजनामा छन् । यही योजना पूरा गर्न उनी निरन्तर जिल्लामा भेटघाट, बैठक, भेला र अन्तरक्रियामा छन् । कार्यकर्ता र आम मतदातासँग सहज रायमाझीका लागि आउने चुनाव गठबन्धन बलियो तगारो बनेको छ ।
२०६४,२०७० र २०७४ सालको निर्वाचनमा माओवादीबाट सांसद चुनिएका रायमाझी अहिले एमालेका सचिव हुन् । नेकपा विभाजनका बेला एमाले रोजेका रायमाझीका लागि आउने चुनावमा जित निकाल्न अवसर चुनौती दुवै छन् । एमालेविरुद्ध अरु दलको गठबन्धन उनका लागि चुनौती हो । मतदाता र कार्यकर्तासँग उनको सहज सम्पर्क र सम्बन्ध एंव गठबन्धनभित्रको किचलो उनका लागि चुनौती हो ।
एमाले नेताहरुका अनुसार, अर्घाखाँचीमा एमालेबाट टिकट पाउन रायमाझीका लागि असहज छैन् । उनी एक्ला दाबेदार हुन् । अर्घाखाँचीका एमाले नेताहरुको आग्रहमै नेकपा विभाजनका बेला उनले एमाले रोजेका थिए । एमाले रोजेकै कारण उनले सांसद पद गुमाएका थिए ।
कुनै बेला उनी बाबुराम भट्टराईको निकट थिए । माओवादीभित्रको अन्तरविरोधमा सधैँजसो उनले भट्टराईलाई साथ दिए । जब भट्टराईले माओवादीलाई ‘रातो स्टिकर’ लागेको घर भन्दै छाडे । र, वैकल्पिक शक्ति बनाउने भन्दै नयाँ शक्ति पार्टी स्थापना गरे, लामो समयदेखिको डा.भट्टराईसँगको साथ उनले छाडे ।
बलियो संगठन र समाजमा भिजेका सक्रिय कार्यकर्ताको ठूलो पंक्ति भएको एमाले रायमाझीका लागि अवसर हो । तर गठबन्धन दलका नेता कार्यकर्ता रायमाझीलाई पराजित गर्न एकमत भएर चुनावमा लागे सहज छैन् । गठबन्धन दलका नेताबीचको किचलोमा खेल्न सकेमा उनका लागि जित निकाल्न असहज छैन् । सबै चुनौतीको समाना गरी जित निकाल्ने उनले बताएका छन् ।
सबै पार्टीका कार्यकर्तासँग सहज सम्बन्ध राख्ने रायमाझीले अर्घाखाँचीको विकासका लागि केही काम गरेको छाप छ । २०४६ सालपछि अर्घाखाँचीबाट ढुण्डीराज शास्त्री मन्त्री भए, त्यसपछि रेवती भुसाल पनि मन्त्री हुन सफल भए ।
पुष्पा भुसालको केन्द्रमा राम्रै पकड देखिन्छ । अहिले उप–सभामुख छिन् । रायमाझीले विद्यालयको पूर्वाधार निर्माण, सडक पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा विभिन्न योजना पार्न मिहिनेत गरेको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए ।
अर्घाखाँची जिल्ला एउटै निर्वाचन क्षेत्र भएको जिल्ला हो । २०७४ अघि यहाँ दुई वटा निर्वाचन क्षेत्र थिए । दुई निर्वाचन क्षेत्र एउटै भएकाले यहाँ नेता व्यवस्थापन गर्न राजनैतिक दलहरुलाई हम्मे हम्मे परेको छ । अझ गठबन्धनका दलहरुबीच केन्द्रमा सहमति भए पनि स्थानीयस्तरमा मिलाप गर्न धेरै समस्या छ ।
कांग्रेसमै उम्मेदवारका आकांक्षी धेरै छन् । डा. रामबहादुर बिसी, पुष्पा भुसाल, लेखनाथ पोखरेल, मानबहादुर विश्वकर्मा, रेवतीरमण भुसाल र विष्णु मुस्कानलगायत उम्मेदवार हुन इच्छुक छन् । डा. विसीलाई रायमाझीले २०७० सालको संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य चुनावमा पराजित गरे । अहिले एकपल्टलाई चुनाव लड्ने इच्छा देखाउँदै डा. विसीले लविङ गरिरहेका छन् । उपसभामुख भुसाल कांग्रेस संस्थापनमा बलियो पकड भएकी नेतृ हुन् । युवा नेता पोखरेल अर्घाखाँचीमा रायमाझीलाई आफूले मात्रै हराउन सक्ने भन्दै टिकटका लागि लविङ गर्दै आएका छन् । कांग्रेसभित्र एकले टिकट पाउँदा अर्कोले स्वीकार नगर्ने परिस्थिति बनेको छ । कांग्रेस नेताहरुको भनाईमा, यस्तो परिस्थिति जिल्ला सभापति केशव श्रेष्ठले बनाइरहेका छन् । कांग्रेसमा स्थानीय चुनावमा चर्केको अन्तरविरोध अहिलेसम्म सामसुम हुन सकिरहेको छैन् ।
यही किचलोका कारण सकेसम्म अर्घाखाँची लिने योजना बनाएको कांग्रेस माओवादी केन्द्रलाई दिएर अरु जिल्लाको सिट लिने रणनीतिमा लागेको छ ।
कांग्रेस बाहेकको विकल्प खोज्दा माओवादी नेता डिलाराम आचार्य हुन् । २०५६ सालमा एमालेसँगको तालमेलमा राष्ट्रिय जनमोर्चाबाट चुनाव जित्न सफल भएका आचार्य जिल्लाको यो परिस्थिति बुझेपछि चुनावी मैदानमा भिड्न इच्छुक छन् । तर बदलिदो परिस्थितिमा आचार्यले चुनावी मैदानमा विपक्षलाई चुनौती दिन सजिलो नभएको कांग्रेसका नेताहरु बताउँछन् । २०७४ सालमा रूपन्देही–५ बाट उम्मेदवार भएका आचार्य कांग्रेसका भरत शाहसँग भारी मतान्तरले पराजित भए ।
रायमाझी स्थानीय चुनावभन्दा अघि बाटै निरन्तर जिल्लामै सक्रिय छन् । उनकै सक्रियताले गठबन्धन दलबीच प्रभावकारी एकता हुँदा समेत एमालेलाई उत्कृष्ट नतिजा हात लागेको छ । यही नतिजाले पनि रायमाझीका लागि सहज वातावरण बनेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीका ६ स्थानीय तहमध्ये चार वटा पालिकाका प्रमुख र पाँच वटा पालिकाका उप–प्रमुखसहित बहुसंख्यक वडामा एमाले चुनाव जित्न सफल भयो । सबै दल एकातिर हुँदा समेत जिल्ला समन्वय समितिमा समेत एमालेले एकलौटी विजय हासिल गर्न सफल भयो । स्थानीय चुनावमा वडा अध्यक्षहरूले पाएको मत विश्लेषण गर्दा एमालेको ४८ हजार २६०, कांग्रेसको ३७ हजार ९२५, माओवादी केन्द्रको सात हजार ७९०, जनमोर्चाको चार हजार २९४ र नेकपा एकीकृत समाजवादीको तीन हजार ७६३ मत छ । कुल ३१७ स्थानीय जनप्रतिनिधिमध्ये एमालेका १६६ उम्मेदवार विजयी भए । ६१ वडामध्ये एमाले एकल चुनाव लडेर ३० वडामा विजयी भयो ।
अर्घाखाँचीमा केन्द्रमा गठबन्धन हुनुभन्दा पहिले नै एमालेविरुद्ध सबै दल मिल्ने घोषणा गरेका थिए । त्यो प्रतिकुल अवस्थामा हतास नभईकन चुनौतीलाई अवसरमा बदलेको एमाले अर्घाखाँचीका अध्यक्ष भुसालले बताए । ‘यसपल्ट पनि हामी चुनौतीलाई अवसरमा बदल्छौं ।’–उनले भने । कांग्रेस जिल्ला सभापति श्रेष्ठ गठबनधनलाई अझैँ कसिलो बनाउने बताए । उनले यसपल्ट रायमाझीलाई सांसद बन्न रोक्ने गठबन्धन दलको मिशन भएको बताए ।
आजको दैनिक लुम्बिनीमा समाचार प्रकाशित छ ।