अर्घाखाँची । प्रेस चौतारी अर्घाखाँचीका इन्चार्ज तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष हिम लेकालीले स्वास्थ्य अवस्थाका कारण भावुक स्टाटस सार्वजनिक गरेका छन्।
लेकालीले सामाजिक सञ्जालमार्फत मंसिर २७ गतेदेखि निरन्तर काठमाडौँमा स्वास्थ्य उपचारमा रहेको जानकारी गराउँदै यस अवधिमा सम्पर्क गर्न खोज्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उपचारका क्रममा आएका सबै फोन उठाउन नसकिएको उल्लेख गर्दै उनले फोन उठ्न नसकेकाप्रति क्षमायाचना गरेका छन्।
उनले स्टाटसमार्फत आफूलाई सम्झिनेप्रति कृतज्ञता व्यक्त गर्दै साथ, सहयोग र सद्भाव प्रदान गर्ने सबैप्रति ऋणी रहेको बताएका छन्। लेकालीले काम गर्ने बेला सबैको प्रिय बन्ने तर काम गर्न नसक्ने अवस्थामा अपहेलना सहनुपरेको अनुभव पनि सार्वजनिक गरेका छन्।
“काम गर्दाको घडी सबैका प्रिय बनिन्छ, तर काम गर्न नसकेपछि हेला सहनुपर्छ,” भन्दै उनले जटिल रोगका कारण बाँच्नुको पीडा भोग्नेले मात्र बुझ्ने बताएका छन्।
स्वास्थ्य समस्याका कारण आफू बिस्तारै विभिन्न संघ–संस्थामा रहेको जिम्मेवारीबाट बाहिरिने विचारमा रहेको कुरा पनि लेकालीले स्टाटसमार्फत स्पष्ट पारेका छन्।
उनको उक्त भावुक अभिव्यक्तिले पत्रकारिता क्षेत्र तथा शुभेच्छुकहरूलाई भावुक बनाएको छ।

