काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका ठूला दलका शीर्ष नेताले अब राजनीतिबाट अवकाश लिनुपर्ने धारणा राखेका छन्।
शनिबार भिडियो सन्देशमार्फत उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए।
शर्माले पदकालमा सीमा तोक्नुपर्ने प्रस्ताव गर्दै भने, “राष्ट्रपति एक पटकभन्दा बढी, प्रधानमन्त्री दुई पटकभन्दा बढी, मन्त्री तीन पटकभन्दा बढी र सांसद चार पटकभन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्छ।”
उनले लामो समयदेखि चुनाव र सरकार गठनको प्रक्रियाले नयाँ अनुहार ल्याउन नसकेको भन्दै तीनै नेताको वरिपरि राजनीति घुमिरहेकाले जनतामा असन्तुष्टि बढेको टिप्पणी गरे।
“मैले पार्टीभित्र पनि कुरा उठाएको थिएँ तर निर्णय हुन सकेन। चुनाव हुन्छ, सरकार बन्छ, तर नेतृत्व फेरि उहाँहरूकै हातमा पुग्छ। यसलाई अब विधि र प्रणालीमै ल्याउनुपर्छ,” शर्माले भने।
उनका अनुसार आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले पार्टी र देशलाई अघि बढाउनुपर्ने आवश्यकता छ।