अर्घाखाँची। रास्वपा अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाको आसन्न अधिवेशनलाई लक्षित गर्दै सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न आह्वान गरेका छन्।
सभापति भुसालले सामाजिक संजालमार्फत भनेका छन् कि उपभोक्ताको समस्यामा जुध्न सक्ने, संस्थाको गरिमा बढाउन सक्ने र निर्णायक क्षमताको आधारमा नेतृत्व छान्नुपर्ने बेला आइपुगेको छ।
उनले लेखे अनुसार विगतका वर्षमा राजनीतिक भागबण्डाले संस्थाको काम प्रभावित भएको थियो। कोठाभित्रै दलगत सहमतिमा पद बाँडफाँड गर्ने प्रवृत्ति अब रोकिनैपर्ने भन्दै उनले योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए। उनले दल निकट व्यक्ति र दल छाडेका व्यक्तिबीच विभाजन गर्ने सोच नै गलत भएको उल्लेख गर्दै दुवै पक्षबाट योग्य र अयोग्य दुवै प्रकारका व्यक्तित्व हुनसक्ने बताए।
खानेपानीजस्तो संवेदनशील विषयमा उपभोक्ताले पानीको गुणस्तर, सुधारका उपाय, सहज शुल्क र सेवा प्रभावकारितालाई मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ छ।
यसैबीच आगामी मंसिर २ गते हुने छैटौं अधिवेशनमा स्वतन्त्र नागरिक समाजको तर्फबाट बाबुराम भुसालले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनी साथी होटलका सञ्चालक समेत हुन् र लामो समयदेखि सामाजिक काममा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्।

