गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोट अन्तर्गत बरल्वा क्षेत्रमा खसेको भीषण पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।
गाउँपालिका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसिरहेको छ र पहिरो रोकिएको छैन। स्थिति नियन्त्रणमा ल्याउने प्रयासस्वरूप प्रहरी चौकी भुर्तुङबाट टोली घटनास्थलतर्फ पठाइएको भए पनि तत्काल सडक खुलाउने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।
यसै क्रममा, जिल्ला प्रशासन कार्यालय गुल्मीले नदी तथा खोला किनारमा बसोबास गरिरहेका स्थानीय बासिन्दालाई बाढी तथा पहिरोको सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।

