काठमाडौं । नेकपा एमालेले मंसिर ५ मा ‘नेसनल भोलेन्टियर फोर्स’ नामक युवा फोर्स सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणा माइतीघरको कार्की बैंक्वेटमा हुने छ जहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन्।
युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार यो फोर्सको नेतृत्व पूर्व उपाध्यक्ष पुष्पराज श्रेष्ठले सम्हाल्नेछन्। श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य हुन् र नेता महेश बस्नेतसँग नजिका मानिन्छन्।
यो संरचना बनाउन एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले केही समयअघि गुण्डुमा बैठक बोलाएर कार्यदल गठन गरेका थिए।
बस्नेतको संयोजकत्वमा बनेको नौ सदस्यीय समूहले विधान, लोगो, झन्डा र कार्ययोजना तयार पारेपछि फोर्स गठनको प्रक्रिया अघि बढाइएको हो। नयाँ फोर्स थपिएपछि एमालेका जनसंगठनको संख्या २४ पुग्ने छ।

