काठमाडौं । अर्घाखाँचीका बहुप्रतिभाशाली गायक तथा सर्जक मोतिराज खनालको तीज विशेष गीत “छड्के कपाल किन कोरेको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
नेपाली महिलाको महान पर्व तीज भावना, श्रद्धा, उत्सव र सामूहिकतासँग जोडिएको पर्व हो। कलाकारले तीज नजिकै गर्दा सामाजिक यथार्थ, नारी चेतना, प्रेम, वियोग, आशा र संघर्षका कथाहरू संगीतमार्फत प्रस्तुत गर्ने गर्छन् । यही सन्दर्भमा राजधानीको रिपोटर्स क्लब नेपालमा सोमबार आयोजित एक भव्य समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । सन्सा फिल्म्सको आयोजनामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुरज खनालको अध्यक्षता रहेको थियो भने नेकपा एमालेकी सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।
गायक खनालकै शब्द, संगीत तथा स्वरमा तयार भएको यस गीतमा लोकप्रिय गायिका राधिका हमालको सशक्त साथ रहेको छ। साथै दीपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लले सहायक स्वर दिएका छन्। गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन् भने रेकर्डिङ तथा मिक्सिङ ‘द म्युजिक इरा रेकर्डिङ स्टुडियो’ मा कृष्ण बाजुरालीले सम्पन्न गरेका हुन्।
सुरज खनालको निर्देशन र शिवजी क्षेत्रीको कोरियोग्राफीमा तयार भिडियोमा चर्चित मोडल कृष्ण खत्री र रिना थापाको दमदार अभिनय देख्न सकिन्छ। साथै सहायक कलाकारमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको आकर्षक उपस्थिति रहेको छ।
कार्यक्रममा राष्ट्रिय नाचघरका पूर्व महाप्रबन्धक लक्ष्मण रायमाझी, समाजसेवी ऋषि भुसाल, धनेन्द्र बस्नेतलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सबिन खड्काले गरेका थिए।
तीजको अवसर पारेर एकपछि अर्को सार्वजनिक गरिएका गीतमार्फत कलाकारहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न खोजेका छन्।
यस अगाडी गायक मोतिराज खनालले सार्वजनिक गरेको ‘सुपादेवी देउरालीकी माइ’ भजनले समेत दर्शक स्रोताबाट अत्यधिक सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ। निरन्तर सशक्त सिर्जनामा जुटिरहेका खनालको कला क्षेत्रमा योगदान अतुलनीय रहँदै आएको छ।
भिडियो :

