अर्घाखाँची । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ले जिल्लाबासीका नाममा सन्देश जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार पीताम्बर भुसाललाई मतदान गर्न आग्रह गर्नुभएको छ।
रायमाझीले अर्घाखाँचीको समुन्नत विकासका लागि सडक, खानेपानी, सिचाइ, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद र पर्यटन क्षेत्रसँगै अर्घा भगवती एयरपोर्ट निर्माणजस्ता पूर्वाधारमा उल्लेखनीय पहल गरिएको उल्लेख गर्नुभएको छ। २०७९ सालको निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने अठोटका साथ अघि बढिरहेको अवस्थामा राजनीतिक पूर्वाग्रहका कारण आफू कानूनी जटिलतामा परेको दाबी पनि उहाँले गर्नुभएको छ।
उहाँले भोगेका कानूनी विषयबारे छिट्टै प्रत्यक्ष भेटघाटमार्फत जानकारी गराउने जनाउँदै वर्तमान परिस्थितिको मूल्यांकनपछि नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिनुभएका पीताम्बर भुसाललाई समर्थन गर्ने निर्णय गरिएको पत्र मार्फत स्पष्ट पार्नुभएको छ।
पार्टीले अघि सारेका विकासका योजना सम्पन्न गर्न तथा सुरु भएका अभियानलाई निरन्तरता दिन पीताम्बर भुसाललाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन उहाँले जिल्लाबासीमा हार्दिक अपिल गर्नुभएको छ।
उक्त सन्देश रायमाझी सचिवालयका लिला जिसीले जानकारी दिनु भएको हो ।

