अर्घाखाँची– सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ सहितको परिवारले वुवा नन्दलाल श्रेष्ठको चौरासी पुजा र स्वर्गीय आमा उमाकुमारी श्रेष्ठको सम्झनामा स्कुलमा अक्षयकोषको स्थापना गरेका छन् । चुत्रावेशीमा रहेको भगवती मावि शंखेटारीमा नन्दलालका जेठा छोरा व्यवसायी ठाकुरप्रसाद श्रेष्ठ, माइला सन्धिखर्क नगरप्रमुख तथा उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद, कान्छा काजी श्रेष्ठ र छोरी तारा र माया सहित श्रेष्ठ परिवारले स्कुलमा ११ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । शुक्रवार चुत्रावेशीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा २ लाख २ हजार २ सय २२ रुपैयाँ प्रदान गरेका छन् ।
स्कुलमा अक्षयकोष स्थापना घोषणा गर्दै नगरप्रमुख कृष्णप्रसादले वुवा नन्दलाले कुर गाउँमा रहेको भगवती स्कुललाई बजार शंखेटारीमा सारेर स्कुल भवन र पठ्नपाठन गर्ने व्यवस्था गर्न योगदान गरेकाले चौरासी पुजाको उपलक्ष्यमा स्कुलमा अक्षयकोषको स्थापना गरेको बताए ।
कोषमा रहेको रकमले गरिबी, जेहेन्दार विद्यार्थीलाई प्राप्त हुने बैंकको ब्याजबाट पढनमा सहयोग पुगोस भनेर स्थापना गरिएको उनले बताए । स्कुलमा एक कार्यक्रम गरी श्रेष्ठ परिवार उपस्थित भएर शिक्षक तथा विद्यार्थी माझ अक्षयकोष घोषणा गरिएको छ । नन्दलालका माइला छोरा सन्धिखर्क नगरपालिका प्रमुख, जेठो छोरा ठाकुर र कान्छो काजी चुत्रावेशीमा व्यवसाय गर्छन् । श्रेष्ठ परिवार अर्घाखाँचीका प्रतिष्ठित बिजनेसमेन हुन ।