अर्घाखाँची । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, अर्घाखाँचीले शिक्षक अधिकारमाथि अंकुश लगाउने सरकारको प्रयासको कडा विरोध गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
संस्थाकी जिल्ला अध्यक्ष सीता बन्जाडेले शिक्षा मन्त्रीद्वारा मिति २०८२ कार्तिक २३ गते जारी ध्यानाकर्षण पत्रबारे गम्भीर आपत्ति जनाउँदै संगठनको धारणा सार्वजनिक गरेकी हुन्।
देशभरका शिक्षकहरूलाई “एकजुट होऔं” भन्ने मूल नाराका साथ
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष सीता बन्जाडेले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ “नेपाल शिक्षक महासंघ, त्यसका आवद्ध संगठनहरू तथा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संगठनहरूलाई पेशागत कर्तव्य र नैतिक दायित्व विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको भन्ने आरोप पूर्ण रूपमा आधारहीन र शिक्षक संगठनको स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास हो।”
संविधानको धारा १७ र ३४ ले सुनिश्चित गरेको विचार, अभिव्यक्ति र ट्रेड युनियन अधिकारमाथि आघात पुर्याउने यस कदमले अन्तर्राष्ट्रिय श्रम संगठनका मापदण्ड उल्लंघन गरेको संगठनले स्पष्ट पारेको हो ।
अर्घाखाँची जिल्ला समितिले शिक्षकहरूको संगठित सहभागिता कुनै राजनीतिक स्वार्थका लागि नभई शिक्षाको अधिकार, गुणस्तर सुधार र विद्यार्थीको हितका लागि भएको बताएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका सचिव कमल पछाईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ “हामी शिक्षकहरूको राजनैतिक तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि एकताबद्ध छौं। आवश्यक परे जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौं।”
संगठनले सरकारलाई समय समयमा भएका सम्झौताहरू कार्यान्वयन गर्न र शिक्षक तथा कर्मचारीहरूलाई हतोत्साहित नगरी स्वतन्त्र संगठन र ट्रेड युनियन अधिकारको सम्मान गर्न विज्ञप्तिमा मार्फत आग्रह गरेको छ।

