अर्घाखाँची – अर्घाखाँचीको सितगंगा नगरपालिका वडा २ मा झोलुङ्गे पुल निर्माण थालिएपछि स्थानीयवासी उत्साहित बनेका छन्। शुक्रबार पुलको सिलान्यास प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गरेका हुन्।
सितखोलाको फलाचोर र पातलटोललाई जोड्ने यो पुल तयार भएपछि दुई घण्टा हिँडेर मात्र पुगिने मुख्य सडक अब १० मिनेटमै पुगिने भएको हो ।करिब २ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। पुलले गाउँका कृषिजन्य वस्तु छिटो बजार पुगोस् भन्ने वर्षौदेखिको चाहना पनि पूरा हुने भएको छ।
करिब १ करोड ८३ लाख लागतमा शुरु गरिएको काम आस्था सम्झना जेभीले ठेक्का लिएको हो। २९० मिटर लम्बाइ रहेको पुलबारे सडक डिभिजन कार्यालयका प्रमुख गोपिराम पुन र इन्जिनियर अशोक दवाडीले प्राविधिक विवरण सार्वजनिक गरेका छन्।
स्थानीय गोवद्वन थापा भन्छन् “गाउँको आवश्यकता बुझेर काम सुरु भएकोमा हामी निकै खुसी छौं। यो पुलले अब हाम्रो दैनिकी नै बदलिन्छ।”

