काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै अब मासिक १९ हजार ५५० रुपैयाँ पुर्याउने निर्णय गरेको छ। यो निर्णय आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत श्रमिकप्रति सम्मान जनाउँदै लेखेका छन्:
“श्रम बिना प्रगति सम्भव छैन, श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।”

प्रधानमन्त्री ओलीका अनुसार करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन्। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको भविष्य सुरक्षित गर्ने विश्वास पनि दोहोर्याए।
साथै, सरकारको नीति अनुसार अब रोजगारीमा संलग्न सबै व्यक्तिको सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकरण गरिनेछ। कम्पनी, फर्म, सहकारी वा कुनै संस्था नवीकरण गर्दा श्रमिकका लागि कोषमा योगदान गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था लागु गरिनेछ।
यो व्यवस्था लागू भएसँगै, अब श्रमिक मात्र होइन, नियोक्ताहरूका लागि पनि सामाजिक उत्तरदायित्व कानुनी रूपमा बाध्यकारी बन्नेछ।

