नेपाल राज्य संवाददाता
बुटवल– सुशासन, विकास र समृद्धिमा रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अगाडी बढ्दै गएको छ । पालिकाको विकासमा स्थानीयको मर्म र भावना अनुसार काम भैरहेका छन् । नेपाल सरकारका शाखा अधिकृत विष्णु घर्ती प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि पालिकाको प्रशासनिक काम चुस्त, दुरुस्त बन्दै गएको छ । सेवाग्रहीलाई मुस्कान सहितको छिटो छरितो काम र कार्यालय व्यवस्थापनमा सुधार देखिन थालेको छ । कार्यसम्पादनलाई उत्कृष्ट बनाउने गरी घर्ती खटिएका छन् ।
‘पालिका अफिसबाट हुने सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउन सबै कर्मचारी संयन्त्रलाई परिचालन गरिएको छ,’ घर्तीले भने, ‘सेवाग्रहीको काम छिटो छरितो बनाएका छौं । पालिका भित्रका विकास योजनाको अनुगमन, योजनाको काम समयमै सम्पन्न गर्ने, विकास र समृद्धिमा अब्बल गाउँपालिका बनाउने गरी योजनाबद्ध रुपमा काम भैरहेका छन् ।’ दुई दशकदेखि निरन्तर सरकारी सेवामा सक्रिय घर्तीको अर्घाखाँचीको मालारानी गाउँपालिका पाल्पाको बगनासकाली गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा अनुभव रहेको छ । सबै पालिकाको कामलाई उत्कृष्ट बनाएका घर्तीले अहिले रुपन्देहीको शुद्धोधन गाउँपालिकालाई प्रशासन, लेखा, इन्जिनियरिङ, राजश्व, सामाजिक विकास, महिला बालबालिका, कृषि, भेटनेरी, स्वास्थ्य शाखाका गतिविधिहरू थप पारदर्शी र सुशासनमैत्री सेवाप्रवाहको रुपमा अघि बढाएका छन् ।
साहित्यमा रुची राख्ने घर्ती कुशल प्रशासकको रुपमा परिचित छन् । ‘पालिकाभित्रका युवालाई रोजगारीका अवसर सृजना गर्ने, कृषि, पर्यटन उद्योग विकास गरी उत्पादनमुलक योजना र कार्यक्रम अघि सारेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत घर्तीले भने, ‘गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेट अनुसार काम अगाडी बढेको छ । प्रशासनिक काम र विकासलाई सिस्ष्टम अनुसार भैरहेको छ ।’ पालिकाको बजेटसँगै लुम्बिनी प्रदेश सरकार र संघ सरकारबाट पनि बजेट योजना भित्राएर काम गर्न घर्ती दौडधुप गरिरहेका छन् । घर्तीले अशुद्ध रहेको गाउँपालिकाको नामलाई गाउँसभाबाट परिवर्तन गराएका छन् ।
सुशासन र विकासमा शुद्धोधन अगाडी बढ्दैछ : घर्ती
