अर्घाखाँची — सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाको छैटौं अधिवेशनका लागि जिल्लामा सक्रिय चार राजनीतिक दलले युवा समाजसेवी युवराज खत्री “प्रेम” लाई अध्यक्षका लागि साझा उम्मेदवारका रूपमा अघि सारेका छन्।
साझा प्यानलमा अध्यक्षका उम्मेदवार खत्रीसँगै बाबुराम भुसाल वरिष्ठ उपाध्यक्ष, भेष बहादुर के.सी. उपाध्यक्ष, जीवलाल पौडेल (गोपाल) सचिव, कल्पना पोखेल सह–सचिव र सुमित्रा मुखिया कोषाध्यक्षका उम्मेदवार छन्। सदस्यमा कमला अर्याल, मतिलाल खनाल र नविन सुनार छन्। लेखा समितिको संयोजकमा सुनिता बेल्वासे र सदस्यमा ज्ञान बहादुर विश्वकर्मा तथा कमल ढकाल लाई अगाडि सारेका छन् ।
मंसिर २ गते हुने अधिवेशनलाई लक्षित गर्दै चार दलले संयुक्त अपिल जारी गरेका छन्। अपिलमा बजार क्षेत्रमा करिब दुई हजारभन्दा बढी धारा मार्फत सेवा दिइरहेको संस्थालाई स्थिर, सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख छ। हाल देशभर बढ्दो राजनीतिक अनिश्चितता, दलविहीनताको एजेन्डा र भ्रामक अभिव्यक्तिले वातावरण प्रभावित भइरहेकाले साझा प्यानल गठन गर्नु परेको उनीहरूको भनाइ छ।
दलहरूले अपिलमा राजनीतिक मुख्यालयहरू जलेर नष्ट भएका समयमा पनि सहकार्यकै बलमा स्थानीय संरचनाहरू उभ्याएको उदाहरण दिँदै अब स्थायी र सुरक्षित खानेपानी प्रणालीका लागि उर्जावान नेतृत्व अपरिहार्य भएको बताएका छन्।
साझा उम्मेदवार खत्रीको नेतृत्वमा बनेको प्यानललाई विजयी गराइदिन राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष गोविन्द विसी, नेकपाका देव बहादुर रायमाझी, नेपाली कांग्रेसका कार्यवाहक सभापति तुल्सीराम पौडेल र नेकपा एमाले नगर अध्यक्ष कुशल भुसालले सन्धिखर्कवासीलाई आग्रह गरेका छन्।
खानेपानी संस्थाको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अहिले स्थानीय तहदेखि जिल्लासम्म मुख्य चासोको विषय बनेको छ। उमेदवारहरू आ–आफ्नो पक्षमा माहोल बनाउँदै छन्। त्यसमाथि केही पत्रकार र अभियानताकर्मीले १२, १३, १४ दलसम्मले गठबन्धन गरेको जस्तो दाबी गर्दै प्रचार समेत गरेको पाइयो ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले भने स्वतन्त्र नागरिक समाजको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका बाबुराम भुसालको नेतृत्व नै सही, इमानदार र योग्य रहेको भन्दै आफ्नो समर्थन प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

